रमेश सिलवाल नै राखेपका सदस्यसचिवमा नियुक्त - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

रमेश सिलवाल नै राखेपका सदस्यसचिवमा नियुक्त



काठमाडौं- नयाँ खेलकुद ऐन २०७७ अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिवमा रमेश कुमार सिलवाल नियुक्त भएका छन्।

सिलवाल नयाँ खेलकुद ऐन लागू भएपछि असार २२ मा मात्र परिषद् सदस्यसचिवबाट पदमुक्त भएका थिए। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई पुनः चार वर्षका लागि परिषद्को जिम्मेवारी दिएको हो।

युवा तथा खेलकुद मन्त्रालयले बनाएको सिफारिस समितिले तीनजनाको नाममा पेस गरेको थियो । त्यसमा सिलवालसहित बागलुङका लिलबहादुर थापामगर र पूर्व महिला भलिबल कप्तान अञ्जु श्रेष्ठ थिए।

सिफारिस समितिले आह्वान गरेअनुसार सदस्यसचिव बन्नका लागि २७ जनाले आवेदन दिएका थिए । त्यसमा समितिले तीनजनाको नाम छनोट गरेर मन्त्रालयमा पठाएको थियो। मन्त्रालयका सचिव रामप्रसाद थपलिया, विज्ञद्वयका रुपमा रिम रानाभाट र इन्दिरा निरौलासम्मिलित सिफारिस समिति गठन भएको थियो।

सदस्यसचिवका लागि आवेदन दिएका २७ जनामध्ये निवर्तमान सदस्यसचिव सिलवाल नै बलियाे उम्मेदवारका रूपमा देखिएका थिए । उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यक्तित्व हुन् ।

परिषद्को चार दशकको इतिहासमा पहिलोपल्ट छनोट प्रक्रियाबाट सदस्यसचिव नियुक्ति गरिएको हो।

ऐनमा राखेपको सदस्यसचिवका लागि ३० वर्ष उमेर पुगेको, खेलकुदमा कम्तीमा ५ वर्ष विताएको र स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको थियो।