नेपाली कांग्रेस तनहुँका नेता कार्यकर्ताले सामुहिक राजीनामा दिने
तनहुँ- नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी निकट तनहुँका नेता तथा कार्यकर्ताले पार्टीले गरेको निर्णय फिर्ता नभए सामुहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले जोशीलाई कारवाही गरेपछि तनहुँमा आज पत्रकार सम्मेलनको आयोजना गरी जोशी निकट नेता तथा कार्यकर्ताले जोशीमाथिको कारवाही पूर्वाग्रही र अधिनायकवादी रहेको बताएका छन् ।
बिपी विचार समाज गण्डकी प्रदेशका सचिव परशुराम गिरीले जोशीलाई गरिएको कारवाहीले भविष्यमा कांग्रेसलाई ठूलो क्षति पुर्याउने बताए । ‘तनहुँको काँग्रेस सङ्गठन बनाएको व्यक्तिलाई पार्टीबाटै निकाल्नु पार्टीकै केही नेताको स्वार्थ र पूर्वाग्रही भावना हो’, गिरीले भने, ‘पार्टी सङ्गठन ध्वस्त हुन्छ, यसको जिम्मा स्वयं पौडेलले लिनुपर्छ ।’
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराए पनि वरिष्ठ नेता रामचन्द्र पौडेलको उजुरीका आधारमा जोशीको उम्मेदवारी खारेज भएको अवस्थामा तीन वर्षपछि आएर कारवाही गरिनु पूर्वाग्रही भावना रहेको उहाँको आरोप छ ।
‘गल्ती गरेको भए त्यही बेला कारवाही हुनु पर्दथ्र्यो, उहाँ त चुनावमा उम्मेदवार नै बन्न पाउनु भएन’, गिरीले भने, ‘महाधिवेशनको मुखमा आएर महाधिवेशनमा भाग लिनबाट वञ्चित गराउने खेल खेलियो ।’
बिपी विचार समाजका नेतृ चिनु पोखरेलले जोशीमाथिको गरिएको कारवाहीको घोर निन्दा गर्दै तत्काल उक्त निर्णय पार्टीले सच्याउनुपर्ने बताए । जोशीमाथिको कारवाही फिर्ता नभएका जोशी निकट सबै कार्यकर्ताले सामुहिक राजीनामा दिने पोखरेलले चेतावनी दिए ।
‘काँग्रेसले अहिले सबै वडामा क्रियाशील सदस्यता नवीकरणका लागि पठाएको छ, जोशीमाथिको कारवाही फिर्ता नभए हामी क्रियाशील सदस्यता नवीकरण गर्दैनौं, सामुहिक राजीनामा दिन्छौं’, उनले भने । बिपी विचार समाजका अध्यक्ष डिल्लीराम अधिकारीले काँग्रेस बनाउने नेता नै पार्टीमा नरहेपछि कार्यकर्ता पनि त्यो पार्टीमा बस्नुको औचित्य नहुने बताए ।