डा.टेड्रोसले भने: डब्लुएचओ अहिलेसम्मकै ठूलो संकटमा छ - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

डा.टेड्रोसले भने: डब्लुएचओ अहिलेसम्मकै ठूलो संकटमा छ



बिबिसी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एडहानम गेब्रियससले संगठनले अहिलेसम्मकै ठूलो विश्व स्वास्थ्य संकटको सामना गरिरहेको बताएका छन् ।

विश्वभर कोरोनाबाट संक्रमित व्यक्तिको संख्या १ करोड ६० लाख नाघिसकेको छ ।

महानिर्देशक डा. टेड्रोसले जेनेभामा आयोजित भर्चुअल न्युज ब्रिफिङमा भने, ‘मास्क अनिवार्य लगाउने, भिडभाडमा नजानेजस्ता सुरक्षाका नियम कडाइपूर्वक पालना गरेर हामी कोरोनालाई हराउन सक्छौं ।’

महामारी रोकथाम गर्न सक्षम क्यानडा, चीन, जर्मनी र दक्षिण कोरियाजस्ता देशको उनले प्रशंसा गरे । उनले भने, ‘जहाँ कडाइपूर्वक सावधानी अपनाइएको छ, त्यहाँ कोरोना संक्रमण घट्दै गएको छ, जहाँ सुरक्षाका नियम पालना गरिएको छैन, त्यहाँ संक्रमण बढिरहेको छ ।’

विश्वका कतिपय स्थानमा कोरोना संक्रमण पुनः दोहोरिइरहेको छ । यसमा ती देश पनि परेका छन्, जसले सुरुमा कोरोना नियन्त्रण गरेका थिए । यस महामारीले विश्वभर अहिलेसम्म ६ लाख ५० हजार जनाको ज्यान लिइसकेको छ ।