प्रचण्डले भने: प्रधानमन्त्री ओली र लेखराज भट्टमा अहंकार पलायो
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री लेखराज भट्टले धोका दिएको बताएका छन् ।
आइतबार सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग खुमटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले आफूले विश्वास गरेको मान्छेबाट धोका भएको गुनासो गरेका छन् ।
अध्यक्ष प्रचण्डले भट्टलाई विश्वास गरेर मन्त्री बनाएको भन्दै अहिले एक बचन नभनी आफूबाट टाढिएको गुनासो गरेका थिए । नेताहरुसँग लामो समय मन्त्री भट्टकोबारेमा गुनासो पोखेका अध्यक्ष प्रचण्डले उनले ४० वर्षदेखिको सम्बन्ध बिर्सिएको बताएका थिए ।
‘हामीले उहाँलाई मन्त्रीको जिम्मेवारी सुम्पिएर पठायौँ । तर, उहाँले तत्कालै बिर्सिनुभयो,’ बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘विश्वासिलो मान्छेबाट धोका पाइयो ।’
बैठकमा सहभागी सुदूरपश्चिम प्रदेश कमिटीका सह–इन्चार्ज खगराज भट्टकाअनुसार चित्त नबुझेको कुरा आफूसँग आएर भन्नुपर्ने तर, पटक–पटक छलफलमा बोलाए पनि नआएको बताका थिए ।
‘उहाँ खुलमखुला प्रधानमन्त्री ओलीको समर्थनमा उत्रिनुभयो । हामीबीचको नमिलेको कुरा एकपटक पनि उहाँले मसँग र अन्य हाम्रा साथीहरुसँग राख्न चाहनु भएन’, अध्यक्ष प्रचण्डले भने, ‘उहाँमा वैचारिक विचलन देखियो । हामीले अहिलेसम्म उहाँले भनेको नमानेको केही थिएन । असन्तुष्टी राख्नुभएको भए हामी समाधान गर्ने मुडमा थियौं ।’
प्रधानमन्त्रीले अहंकार देखाए
छलफलका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमा अहंकारको भावना देखिएको बताएका थिए । उनले प्रधानमन्त्री ओलीले एकलौटी रुपमा सरकार र पार्टी सञ्चालन गर्न खोजेको बताएका थिए ।
‘प्रधानमन्त्रीजी छलफल र बैठकमा पनि सहभागी हुन चाहानुहुन्न । एकलौटी चल्न खोज्नुहुन्छ,’, नेताहरुसँग उनले भने, ‘प्रधानमन्त्रीको अहंकारी प्रवृत्तिले पार्टी एकता संकटमा पुग्यो ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्र बिर्सिएको र एकलौटी प्रवृतिबारे दबाब दिन खोज्दा पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् ।
विगत १५ दिनदेखि अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भएको भेटवार्ता बिना निष्कर्ष टुंगिँदै आइरहेको छ ।