भोलिबाट ४ दिन मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भोलिबाट ४ दिन मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा



काठमाडौं- भोलि (सोमबार)बाट देशका अधिकांश भूभागमा फेरि वर्षा हुने भएको छ ।

सोमबार रातिदेखि न्यून चापीय रेखा नेपाल नजिकै रहने तथा अरब सागरबाट पनि जलवाष्पयुक्त हावा भित्रिने भएकाले देशका धेरैजसो स्थानमा झरी पर्ने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपटक यसअघिको भन्दा बढि वर्षा हुने महाशाखाले अनुमान गरेको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै साउन १२ गते (सोमबार) रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन अपिल गरेको छ ।

वर्षासँगै नदी खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेतको जोखिम भएकाले सचेत हुन महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार आज (आइतबार) प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

भोलि दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।