निकै फितलो कानुन, मनोरोगले निम्त्याउने घटना - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

निकै फितलो कानुन, मनोरोगले निम्त्याउने घटना



काठमाडौँ- ‘औषधि किन्न डाक्टरको सिफारिस पुर्जी चाहिने तर एसिड निर्धक्क जसरी जहाँ पनि किन्न पाइने । यो नै एसिड आक्रमण निरन्तर हुने आधार हो’ अभियन्ता उज्वलविक्रम थापा भन्छन ।

नेपालमा एसिड आक्रमणका घटना वृद्धि हुनुको पछाडि नेपालको कानुन नै मुख्य कारण रहेको थापाको अनुभव छ । ‘मान्छेले आवेगमा आएर बन्दुक र खुकुरी प्रहार गर्छ तर एसिड आक्रमण निक्कै सोचेर, लामो समयदेखिको तयारी गरेर गरिने भएकाले यसमा धेरै कैद सजाय गरिनुपर्छ’ थापा भन्छन ।

बिहीबार काठमाडौँमा भएको घटना एसिड सर्वसुलभ भएकैले मात्रै नभएर मनोरोग बोकेका मान्छेहरूको गलत चिन्तनको कारणले भएको बताउँछन्, थापा । ‘पुरुष ४८ वर्षको हुन्, केटीको उमेर २२ वर्ष छ । अनि एसिड छ्याप्न आउने युवा २३ वर्षको ।’ थापा भन्छन, ‘यो कुनै पनि प्रेम हैन, यो त मानसिक रोग मात्रै हो ।’

कसैको सन्काहापन प्रेमसँग नजोडिने थापा बताउँछन् । तेजाब बेच्नेलाई अनिवार्य लाइसेन्ससँगै किन्नेले परिचयपत्र राखेपछि मात्रै ठेगाना खुलाएर पाउने व्यवस्था नगरेपछि तेजाब आक्रमण नरोकिने उनले बताए ।

यस्ता अपराधमा हुने फितलो कारबाहीले तेजाब आक्रमणका घटनाहरू बढिरहेको थापाले बताउनुभयो । एउटा महिला र पुरुषको अनुहारमा तेजाब हालेपछि उसको जीवन नै बिग्रन्छ, त्यसैले जीवन सकिने भएकाले तिनीहरूलाई जन्मकैदको फैसला सुनाएमा मात्रै आक्रमणमा कमी आउने आशा आफूहरूले लिएको उहाँले बताउनुभयो । नेपालको कानुनमा मुख बिग्रिने गरी एसिड हालेमा आठ वर्षसम्म कैद र हात र शरीरमा परेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।

गोल्डेन बाकको सिसीले जोगायो अनुहार

नेपालमा यसअघि भएका तेजाब आक्रमणका घटनाहरूमा खुला मुख भएका भाँडोहरूको प्रयोग हुने गरेको थियो । तर बिहीबार भएको घटनामा युवती २२ वर्षीया पवित्रा कार्कीलाई एसिड हान्दा गोल्डेन बाकको बोतलको मुख सानो भएकाले कम एसिड परेको हो ।

अभियान्ता थापा भन्छन, ‘यो पवित्रा बहिनीको भाग्यको कुरा हो । यसअघि प्रयोग भएका भाँडाहरूको प्रयोगबाट हुँदा मुख नै ड्यामेज हुन्थ्यो ।’ सानो मुख भएकाले एसिड प्रहार गर्ने मुन्ना मोहम्मदको हातसमेत जलेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।