घोडाघोडीको उदाहरणीय कार्य: असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

घोडाघोडीको उदाहरणीय कार्य: असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण



विशाल पाण्डेय / कैलाली –
जिल्लाको घोडाघोडी नगरपालिकाले नगरमा भएका अनाथ तथा असहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने १ सय ७५ जना असहाय विद्यार्थीहरुलाई शुक्रबार शैक्षिक सामाग्री वितरण गरेको हो ।

नगरपालिकाले झोला, विद्यालय पोशाक, कापी, कलम, ज्यामीती बक्स तथा नगद सहित प्रति विद्यार्थी २ हजार ६ सय रुपैयाका दरले शैक्षिक सामाग्री वितरण गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मीले जानकारी दिए ।

उनले नगरपालिका भित्र रहेका प्रत्येक सामुदायिक विद्यालयमा आमाबाबु नभएका टुहुरा बालबालिकाको लगत लिएर वितरण गरिएको बताए । रेग्मीले बालबालिकाहरुलाइ नियमित रुपमा विद्यालय आउन सहज तथा शैक्षिक सामाग्रीको समस्या नआओस् भन्ने उदेश्यले नगरपालिकाले वितरण गरिएको बताए ।

आमाबाबु दुबै गुमाएका र अध्ययनमा समस्या भएका बिभिन्न बालबालिकाहरुलाई नगर सरकारले अभिभावकत्व ग्रहण गरी शैक्षिक समाग्री वितरण गरेको नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले बताए । ‘जस्को कोहि छैन उसको सरकार छ’ भन्ने महसुस अब जनताले गर्न थालेको बताउदै नगर प्रमुख चौधरीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई थप ब्यवस्थित गर्दै अघि बढ्ने बताए ।

आर्थिक अभावमा शैक्षिक सामाग्रीको जोहो गर्न समस्या भईरहेको वेलामा नगर सरकारले गरेको यस्तो कामले आफुहरुलाई सहजता भएको बताउदै विद्यार्थीहरुले नगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।