नक्सा छाप्न निर्णय गराउनेलाई राष्ट्रघाती दलाल बनाउने, आलटाल गर्नेको देवत्वकरण गर्ने ? - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

नक्सा छाप्न निर्णय गराउनेलाई राष्ट्रघाती दलाल बनाउने, आलटाल गर्नेको देवत्वकरण गर्ने ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठकबाट आफूले नक्सा प्रकाशित गर्ने निर्णय गराएको दाबी गरेका छन् ।

पुष्पलाल मित्रता केन्द्रले राजधानीको च्यासलमा आयोजना गरेको स्मृतिसभामा बोल्दै स्थायी कमिटीको चौंथो बैठकमा कार्यकारी अध्यक्षका हैसियतले आफूले निर्णय गराएको दाबी गरेका हुन् ।

“त्यतिबेला कार्यकारी अध्यक्षको हैसियतले मैले नै निर्णय गर्नुपर्छ । हिन्दुस्थानले हाम्रो पनि भूभाग समेटेर नक्सा निकालेपछि त्यसको जवाफ हामीले नक्सा छापेरै दिनुपर्छ भनेर मंसिर २९ गतेदेखि बसेर पुस ६ गते सकिएको बैठकले निर्णय गरियो । माघमा बसेको केन्द्रीय कमिटी बैठकले पनि निर्णय गरेको छ । त्यसपछि सरकारको ध्यानकार्षण गराउने काम भयो । तर तपाईंहरूलाई थाहा छ, त्यतिबेला नक्सा छाप्ने होइन भूमि नै फिर्ता ल्याउने सरकारको जवाफ आयो ।”

उनले जेठ २ गते बिहान बसेको सचिवालय बैठकले अन्तिम समयमा नीति तथा कार्यक्रममा नक्सा छाप्ने विषय समावेश गरेको दाबी गरे ।

“त्यसदिन पनि हामीले नीति तथा कार्यक्रममा नक्सा छाप्ने विषय समावेश गर्नुपर्छ भनेर भनेपछि बैठकबाटै मुख्य सचिवलाई फोन गरेर यस्तो भाषा राखौं भनेर हामीले नै सुझाव दिएका हौं,” उनले भने, “हामीले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छौं । प्रधानमन्त्रीले नमानी बैधानिकता पाउँदैनथ्यो । तर, सामूहिकरूपमा गरेको निर्णय व्यक्तिको खल्तीमा हाल्ने काम भयो । सामूहिक निर्णय गराउने, राष्ट्रघाती दलाल हुने, नक्सा छाप्न ढिलाइ गर्नेको देवत्वकरण गर्ने कुरा राम्रो हुँदैन ।”

पार्टीले पुसमै गरेको निर्णय कार्यान्वयन गर्न जेठ पर्खनुपरेको उनको भनाइ थियो ।