भारतमा कडा नियम: मास्क नलगाए २ वर्ष जेल र १ लाख जरिवाना - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भारतमा कडा नियम: मास्क नलगाए २ वर्ष जेल र १ लाख जरिवाना



एजेन्सी- भारतको झारखण्ड राज्यले घरबाट बाहिर निस्केपछि मास्क नलगाएको पाइए २ वर्ष जेल वा १ लाख भारु जरिवाना वा दुवै सजाय हुने प्रावधान लागू गरेको छ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै त्यहाँको मन्त्रिपरिषद्ले ‘झारखण्ड संक्रामक महामारी विधेयक’ यस्तो नियम बनाएको हो।

राज्यका मुख्यमन्त्री हेमन्त सोरेनले बुधबार साँझ सरकारका तर्फबाट यो जानकारी दिएका हुन्। उनले भने, ‘सरकारले कहिलेकाहीं कठोर निर्णय पनि लिनुपर्छ। कोरोना महामारीको गम्भीर अवस्था विचार गर्दै हाम्रो

मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो। हामी आग्रह गर्छाैं कि बिनामास्क घरबाट बाहिर ननिस्कनुहोला । अन्यथा कारबाही हुन्छ। यो कानुन सबैका लागि लागू हुन्छ।’

झारखण्डमा ६ हजारभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भइसकेको छ। जसमध्ये ६० भन्दा बढी बिरामीको मृत्यु भइसकेको छ।

बुधबारको परीक्षणमा झारखण्ड विधानसभाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री सीपी सिंहलाई समेत कोरोना पुष्टि भएको छ।

यसबीच विधायकलाई पनि कोरोना संक्रमण भएपछि झारखण्ड विधानसभा सचिवालय तीन दिनका लागि बन्द गरिएको छ।