नेटवर्किङ कम्पनी नेचर हर्ब्समाथि कारबाही हुने संकेत
काठमाडौं- सबैतिर विरोध र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेटवर्किङ कम्पनी नेचर हर्ब्सलाई कारबाही गर्ने संकेत देखाएको छ । अबैध र गैरकानुनि कार्य गरेको आशंकामा विभागले कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।
विभागका अनुसार कम्पनीले इजाजत अघि नै विभिन्न गतिबिधि गरेको भेटिएपछि स्पष्टीकरण सोधेको जनाइएको छ । विभागले वस्तुको प्रत्यक्ष बिक्रीका लागि उक्त कम्पनीलाई इजाजत दिएपछि सबैतिर प्रश्न उठेको थियो ।
कम्पनीले वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत पाउनुअघि गरेका क्रियाकलापबारे ३ दिनभित्र विभागमा जवाफ लेखी पठाउन विभागले निर्देशन दिएको छ । उपयुक्त र तथ्यमा आधारित जवाफ नआएको खण्डमा कारबाही पनि गर्न सक्नेछ ।
त्यसैगरी अन्य कम्पनीहरूले पनि शंकास्पद गतिबिधि गरेको भेटिएको विभागका एक अधिकारीले जनाएका छन् ।
नेचर हर्ब्सले गत असार १७ गते वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्नुका लागि अनुमति पाउनुअघि नै पिरामिड शैलीको अवैध नेटवर्किङ गरिरहेको थियो ।
अहिले पनि उक्त कम्पनीले राज्यका उच्च तहमा आफ्नो पहुँच भएकाले कम्पनीलाई कुनै असर पर्न नसक्ने भन्दै ग्राहकलाई झुटो आस्वासन दिईरहेको छ ।
पहिले नै कारबाहीमा परेको र ठगी आरोपमा प्रतिबन्ध लगाइएको नेटवर्किङ कम्पनी हर्बो इन्टरनेसनललाई नयाँ नाम दिएर नेचर हर्ब्स बनाइएको हो ।