प्रधानमन्त्रीको बोलीको प्रभाव: अयोध्याबारे सत्यतथ्य अनुसन्धान हुने
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे सत्यतथ्य बाहिर ल्याउन सांसदहरुले माग गरेका छन् ।
बिहीबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको सत्य, तथ्य पत्ता लगाउनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नारदमुनि रानाले प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मेका हुन् भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै रामको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयमा पुरातत्व विभागले अनुसन्धान अगाडि बढाउनुपर्ने बताए ।
त्यस्तै नेकपाका अर्की सांसद सरलाकुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएपछि त्यसलाई पुरातत्व विभागले उत्खनन गर्दै अध्ययन अगाडि बढाउनुपर्ने बताइन् ।
नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिन नहुने बताए । उनले ठोरीको अनुसन्धानको लागि के व्यवस्था भएको छ, अहिले कत्तिको अनुसन्धान भइरहेको छ भन्दै प्रश्न गरे । ‘प्रधानमन्त्री ओलीले के आधारमा भन्नुभएको हो, अहिले अनुसन्धान कुन चरणमा पुगेको छ, त्यसको विषयमा जानकारी हुनुपर्छ’, उनले भने ।
त्यस्तै कांग्रेस सांसद पुष्पा भुसालले अनुसन्धान र सत्य, तथ्य प्रमाणित नभइ प्रधानमन्त्रीले रामराज खोलेपछि अहिले मिडियामा बहस सुरु भएको बताइन् । कार्यकारी प्रमुखले रामको जन्म नेपालमा भयो भनेपछि अहिले मिडियामा बोल्नेहरु नै विशेषज्ञ जस्तो गरी छलफलमा सहभागी भइरहेको उनले बताइन् ।
‘नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्याउन खोज्दा यस्ता विषयवस्तुमाथि सरकार प्रमुखले धारणा राख्नुहुँदैन’, उनले भनिन् ।