‘म नभए केही चल्दैन’ भन्नेहरू कम्युनिस्ट होइनन: माधव नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिन अपिल गरेका छन् ।
४२औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा प्रेस वक्तव्य जारी गर्दै नेता नेपालले व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरू देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुने बताएका हुन् ।
‘अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ । आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरू देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ’, पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भनेका छन् ।
पुष्पलालले स्थापना गरेका पदचिन्हहरूमा दृढतापूर्वक हिँड्न सकेकै कारण आफूहरुले नेपालमा ऐतिहासिक परिवर्तनहरू गर्न सकेका उनले उल्लेख गरेका छन् ।
कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरूबाट जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरू सधैँ मार्गदर्शनका रुपमा रहने उनले बताएका छन् ।
‘कम्युनिस्ट पार्टी र नेता–कार्यकर्ताहरूले जतिसुकै कठिन परिस्थितिमा पनि विचलित हुनहुँदैन र जनतालाई गोलबन्द गर्नबाट पछि हट्नु हुन्न भन्ने उहाँको दृढतालाई सिर्जनशील रुपमा अलवम्बन गर्दै कम्युनिस्ट पार्टीहरूले विभिन्न कालखण्डमा काम गर्न सकेकै कारण आज हामीले यति विशाल पार्टी निर्माण गर्न सकेका छौँ’ नेता नेपालले भनेका छन्, ‘ दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर हामीले हाम्रा संस्थापक महासचिव कमरेड पुष्पलालको सपनालाई साकार मात्र पारेका छैनौँ, नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा एक कदम अघि बढाउन ठोस योगदान समेत गरेका छौँ ।’
नेता नेपालले संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरिरहेको यस घडीमा नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको बताएका छन् ।
‘कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई हामीले दृढतापूर्वक व्यवहारमा लागू गर्नुपर्छ’, उनले भनेका छन् ।

