ट्रम्प आफैले भने: अमेरिकामा कोरोना अझै भयावह हुँदैछ, सबैले मास्क लगाउनु - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

ट्रम्प आफैले भने: अमेरिकामा कोरोना अझै भयावह हुँदैछ, सबैले मास्क लगाउनु



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीले अमेरिकामा अझै भयावह रुप लिने बताएका छन्।

कोरोनाबारेको दैनिक प्रेस ब्रिफिङ पुनः सुरु गर्दै उनले सबै अमेरिकीलाई मास्क लगाउन अपिल पनि गरेका छन्। प्रेस ब्रिफिङमा उनी आफैंले भने मास्क लगाएका थिएनन्।

विज्ञहरुको सल्लाहका बाबजुद ट्रम्पले मास्क लगाउन अस्वीकार गर्दै आएका छन्। सार्वजनिक स्थानमा उनले एक पटकमात्र मास्क लगाएका छन्। त्यो पनि अस्पतालमा जाँदा।

अमेरिकामा कोरोना संक्रमण फेरि तीव्र गतिमा बढेपछि राष्ट्रपतिका सल्लाहकारहरुले उनलाई नयाँ रणनीति उपनाउन सल्लाह दिएको बताइएको छ। गत अप्रिलमा उनले संक्रमण रोक्ने खोप दिएर महामारी नियन्त्रणमा लिन सकिने भनेर दिएको अभिव्यक्तिको आलोचना भएपछि नियमित पत्रकार सम्मेलन बन्द गरेका थिए।

तीन महिनापछिको कोरोना पत्रकार सम्मेलनमा निकै संयमित रुपमा प्रस्तुत भएका ट्रम्पले त्यही कुराहरु गर्न आह्वान गरे, जुन यसअघि जनस्वास्थ्य विज्ञहरुले लगातार भन्दै आएका थिए ।

उनले सामाजिक दूरी कायम गर्न, मास्क लगाउन आह्वान गरेका छन्। आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफ्ना प्रतिष्पर्धी डेमोक्रेट उम्मेदवार जो बाइडनले कडा टक्कर दिन थालेपछि ट्रम्पको बोली फेरिन थालेको बताइएको छ।