प्रचण्ड-नेपाल गोप्य सहमति
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद करिव करिव अन्त्य हुने देखिएको छ । सरकार र पार्टी संचालनमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीको राजिनामा मागिएपछि नेकपा पार्टी विभाजनकै चरणमा पुगेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जवर्जस्ती हटाएको खण्डमा पार्टी विभाजन गर्ने तयारी गरेको बताएपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल विभाजन रोक्नकै लागि भएपनि ब्याक हुनुपर्ने अवस्था आएको छ । तर, बाहिर ब्याक भएजस्तो देखिएपनि त्यसको अन्तर्य भने अर्कै भएको खुलेको छ ।
प्रचण्ड, नेपाल र झलनाथ खनालसहितका नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्नै पर्ने दबाब दिएपछि शनिबारको सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशन गरेर मात्र आफूले पार्टीको नेतृत्व छाड्ने प्रस्ताव गरे । अर्ली महाधिवेशन गरेर पार्टी छाड्ने प्रस्ताव आएपछि विवादले अर्कै मोड लिएको थियो ।
प्रधानमन्त्री ओलीले राखेको प्रस्तावअनुसार छिट्टै महाधिवेशन गर्ने फर्मुला भने प्रचण्ड र माधवकुमार नेपाल समूहकै योजना अनुसार आएको खुलेको छ । प्रधानमन्त्री ओलीलाई तत्काल कारबाही गर्दा पार्टी विभाजन हुने निश्चित भएपछि ओलीलाई पार्टी अध्यक्षबाट बैधानिक हिसावले हटाउने योजना अनुसार नै अर्ली महाधिवेशनको कार्ड विश्वासपात्रको माध्यमबाट बालुवाटार पुराइएको स्रोतले बताएको छ ।
प्रचण्ड-नेपाल समुहका एक स्थायी कमिटि सदस्यका अनुसार यो योजना खुमलटारमै बनेको थियो । उनले बताएअनुसार पार्टी विभाजन गर्ने अड्डी कसेर बसेका प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट कुनै हालतमा हटाउने थुप्रै विकल्पका बारेमा खुमलटारमा छलफल भएको थियो । सबैभन्दा उपयुक्त विकल्पको रूपमा अर्ली महाधिवेशन नै भएकाले यो योजनालाई ओलीकै समूहका एक नेतामार्फत बालुवाटार पुराइएको थियो ।
ति नेताका अनुसार प्रधानमन्त्री ओलीले यो प्रस्ताव आफ्नै समुहले तयार गरेको बुझेका छन्, खुमलटारको प्रस्ताव भन्ने थाहा हुनेबित्तिकै यो योजनाबाट पनि पछी हट्ने अवस्था ओलीको भएको उनले बताउँछन ।
उनले मिडियामा विभिन्न कुराहरू आएपनि प्रचण्ड-नेपाल समूहबीच गोप्य सहमति भएरै यस्तो योजना बनाइएको बताए । माधव नेपाल निकट एक नेताले पनि यो कुरा स्वीकार गरे । हामीले उनलाई यसबारे प्रश्न सोध्दा उनले दुई नेताको योजनामै सबै भैरहेको बताए । उनका अनुसार पछिल्लो पटक प्रचण्ड र नेपाल बालुवाटारमा ओलीसंग बसेको वार्तापछि धेरै विकल्पको बारे छलफल गरिएको थियो ।
बालुवाटारको त्यो तिक्ततापूर्ण बैठकपछि खुमलटारमा सघन छलफल भएको उनले बताए । उनका अनुसार वार्ताबाट समाधान ननिस्किने निष्कर्ष पनि त्यहि दिन प्रचण्ड-नेपालले नेताहरूलाई बताएका थिए । वरिष्ठ नेता नेपाल र प्रधानमन्त्रीबीच खुमलटारमा चर्काचर्की नै भएको समेत त्यहाँ ब्रिफिङ गरिएको थियो । चर्काचर्कीपछि नेता नेपाल छलफल छाडेर बिचैमा निस्किएका थिए । अन्य कदम चाल्दा पार्टी फुट्ने पक्का भैसकेकाले छिटो महाधिवेशन नै उपयुक्त भएको नेताहरूले निष्कर्ष निकालेका थिए ।
पटक पटकको वार्ताबाट पनि समाधान ननिस्कने र समय लम्बिंदै जाने अवस्था आएपछि प्रचण्ड, नेपाल, खनाल र सो समूहका अन्य नेताहरुले बैठक बसेर अन्य नेताहरूसंग समेत छलफल गरेपछि चाँडै महाधिवेसन गरेर भएपनि पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेका थिए ।
मंगलबार बिहान पनि खुमलटारमा प्रचण्ड, खनाल र नेपालबीच यसै विषयमा सघन छलफल भएको स्रोतले जनायो। त्यसअघि उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि प्रचण्डले छुट्टै परामर्श गरेका थिए।
नेकपाको माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय कमिटीले ०७७ चैत अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो। नेकपाका प्रवक्ता श्रेष्ठले पनि पार्टीभित्र देखिएको गतिरोधको निकास महाधिवेसनले नै दिने बताएका छन्।