नेपाली कांग्रेस (बिपी)को कार्यक्रममा प्रदीप गिरीको यस्तो भाषण - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेपाली कांग्रेस (बिपी)को कार्यक्रममा प्रदीप गिरीको यस्तो भाषण



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठिरहेका बेला नेपाली कांग्रेसका नेता प्रदीप गिरिले पनि उनको भूमिकामाथि प्रश्न गरेका छन् ।

३८औं बिपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस (बिपी) ले मंगलबार केन्द्रीय कार्याय गोंगबुमा आयोजना गरेको ‘वर्तमानमा बिपी विचारको सान्दर्भिकता’ विषयक अन्तर्क्रियामा उनले राष्ट्रपतिले आफ्नो भूमिका निभाउन नसकेको बताएका हुन्।

कार्यक्रममा बोल्दै नेता गिरीले नेकपाले प्रधानमन्त्रीको भूमिकामा संसदमा राजीनामा माग्न नसकेर तमासा गरेको पनि बताएका थिए ।

गिरिले नेकपाले प्रधानमन्त्रीको राजीनामा मागेको केटाकेटी खेल भएको बताए। कांग्रेसले संसदमा सरकारको गलत क्रियाकलापमा केही बोल्न नसकेर निरीह व्यवहार देखाएको समेत उनले बताए।

कांग्रेसले निजीकरणको नाममा समाजवादी नीति भुलेकोले पार्टीलाई बिपीवादी भन्न पनि लाज हुने भैसकेको उनले बताए।

‘कांग्रेसले बिपीको सिद्धान्त भुलेको सत्य हो त्यसैले तपाईंहरु अलग हुनु भएको हो। तर अहिले संविधान संकटमा। संविधान मात्र जाँदैन, देश नै गम्भीरतामा छ,’ उनले भने, ‘यसमा सम्पूर्ण प्रजातन्त्रवादीले सोच्नुपर्छ।’

नेपाली कांग्रेस (बिपी) का सभापति हरिबोल भट्टराईले संसदको अधिवेशन अन्त्य गरी संविधानको मर्मविपरीत जादा कांग्रेस निरीह भएको आरोप लगाए।

नेकपा मालेका पोलिटब्यूरो सदस्य कुमार श्रेष्ठ, नेकपा संयुक्तका सचिवालय सदस्य मधु बिसी मल्ल, नेपाल प्रजातान्त्रिक पार्टीका राजेश्वर श्रेष्ठ बिपीको समाजवादको चर्चा गरेका थिए।