कोदोको रक्सीको ब्राण्ड बनाऔं, देश सम्वृद्ध बन्छ: सांसद राई - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

कोदोको रक्सीको ब्राण्ड बनाऔं, देश सम्वृद्ध बन्छ: सांसद राई



काठमाडौं- प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छिन्। स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गरेकी हुन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घरेलु उद्योगको रुपमा अर्गानिक जडिबुटी युक्त लोकल कोदोको रक्सी उत्पादन गरी महँगो मूल्यमा विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन्।

विकसित मुलुकहरुले आफ्नो देशमा उत्पादित रक्सिलाई ब्राण्ड बनाई प्रवद्र्धन गर्ने तर नेपालको सरकारले ब्याण्ड गरेर नागरिकको सीपलाई दबाउने काम गरेको बताए।

उनले प्रदेश एक सरकारलाई कोदोको रक्सी उत्पादन गर्न ऐन ल्याउन सुझाव दिएको बताउँदै सरकारले विधेयक नल्याए आफुले गैह्रसरकारी विधेयक प्रदेश संसदमा दर्ता गराउने बताइन्।

नेपालमा कोदोको रक्सी, गाँजा र रातो चन्दनलाई ब्याण्ड गरिएको भन्दै त्यसलाई ऐनमार्फत नियमन गरी घरेलु उद्योगको रुपमा विकास गर्नुपर्ने राईले बताइन्। अहिले नेपालमा दुई खर्ब बढीको विदेशी रक्सी आयात भइरहेको तर नेपाल मै उत्पादन हुने रक्सीलाई माटोमा मिलाइएको भन्दै आवस्यक नियमन गरी गुणस्तरीय रक्सी उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने बताइन्।

घरेलु उद्योगको रुपमा कोदोको रक्सी उत्पादन गरी हजारौं युवा र महिलालाई स्वरोजगार बनाई करोडौं आम्दानी गर्न सक्ने बनाउन सरकारले ब्याण्ड नभई ब्राण्ड गर्नतर्फ ध्यान दिनुपर्ने राईले बताइन्।