निजी सवारीमा जोरबिजोर सिस्टम हट्यो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

निजी सवारीमा जोरबिजोर सिस्टम हट्यो



काठमाडौं- सरकारले निजी सवारी साधनमा अपनाउँदै आएको जोरबिजोर प्रणाली अन्त्य गर्ने निर्णय गरेको छ। साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गते राती १२ बजेबाट लकडाउन अन्त्य गर्नुका साथै जोरबिजोर प्रणालीसमेत अन्त्य गर्ने निर्णय गरेको हो।

लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने संचालन नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।

भदौ १ गतेबाट लागू हुने गरी सरकारले विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ।

यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ। यस्तै छोटो, मध्यम र लामो दुरीका सवारी साधन पनि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ।

साउन १५ देखि होटल रेस्टुरेन्ट , ट्रकिङ व्यवसाय खुल्ने भएका छन्। तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न नपाइने सरकारले निर्णय गरेको छ।

आउँदो हिउँदलाई ध्यानमा राखी ट्रेकिङको बुकिङ खोल्न सकिने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।

खुला गरिएका सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने सरकारले व्यवस्था गरेको छ।

सेमिनार ,बैठक,ब्युटी पार्लर,हेल्थ क्लब,सैलुन,धार्मिक स्थल सञ्चालन गर्न भने अझसम्म पनि पाइने छैन। संक्रमण बढ्यो भने सरकारले खुला गरेका क्षेत्र पुन बन्द गर्न सक्ने समेत निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए।