बन्दको पुर्वसन्ध्यामा विप्लव नेकपाको मशाल जुलुस - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बन्दको पुर्वसन्ध्यामा विप्लव नेकपाको मशाल जुलुस



कैलाली – आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेकपाले साउन ६ गते मंगलबार आह्वान गरेको बन्दको प्रचारप्रसार अन्तर्गत आज सोमबार मशाल जुलुस प्रदर्शन गरेको छ ।

गौरीगंगा नगर कमिटिको आयोजनामा वडा नं १० उदाशिपुरमा मशाल जुलुस प्रदर्शन गरेको हो । कृत्रिम मुद्धा बनाएर कार्यकर्ता पक्राउ गरेको भन्दै ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले भोली ६ गते सेती महाकाली बन्दको आह्वान गरेको छ।

त्यस्तै जिल्लाको घोडाघोडी नगरपालिका -५ देवकलियामा पनि साझ करिब ८ बजेतिर मशाल जुलुस प्रदर्शन गरिएको विप्लवका एक नेताले हिमाल पोस्टलाई जानकारी दिए ।

सरकारले झुठा मुद्दा लगाएर राज्य आतंक गरेको, नेकपा माथि राजनीतिक प्रतिबन्ध लगाएर गैरन्यायिक तबरले पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहाको माग गर्दै विप्लव नेतृत्वको नेकपाले संघर्ष कार्यक्रम अन्तरगत भोली बन्दको आह्वान गरिएको हो।

गएको बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका- ७ बाट विप्लवका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो।

उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो।