प्रधानमन्त्रीले ‘माफी नमागे भारतबाट सबै नेपालीलाई लखेट्ने’ चेतावनी
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको बयानले आक्रामक मोड लिने देखिएको छ । भगवान रामको जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका दिन दिएको बयानले नेपाल र भारतमा चर्को बहस कठोर मोडतर्फ मोडिएको छ ।
उनले दिएको बयानले भारतमा ब्यापक आक्रोश बढाएको छ। ठाउँठाउँमा सन्त महन्थ समाजले प्रदर्शन गरिरहेको छ। आफूलाई रामको वंशजका रुपमा चिनाउनेहरु पनि नेपालविरुद्ध एक्सनमा उत्रिएका छन्।
इन्दौरका सन्त महन्थहरुले नेपालका प्रधानमन्त्रीले बयान फिर्ता लिएर माफी नमागे भारतमा रहेका सबै नेपालीलाई लखेटेर नेपाल पठाउने चेतावनी दिएका छन्। इन्दौरमा बिहीवार ‘कम्युटर बाबा’को नेतृत्वमा विरोध प्रदर्शन भएको थियो।
उनीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका थिए। प्रदर्शन कार्यक्रममा कम्प्युटर बाबाले नेपालका प्रधानमन्त्री बयान फिर्ता लिएर माफी मागेनन् भने भारतमा रहेका नेपालीलाई लखेट्ने चेतावनी दिए।
‘सन्त समाजले ओलीको पुत्ला बनाएर जुत्ता वर्षाएको छ। पुत्ला दहन गरेको छ। नेपालको प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ। अन्यथा पुरा सन्त समाज सडकमा उत्रिनेछ। यदि तपाईले अयोध्यामै राम छन् भन्ने कुरा भन्नुभएन भने भारतमा रहेका सबै नेपालीलाई लखेटिनेछ। नेपाल पठाइनेछ। यहाँ रोटी खाइरहेका छन्, कमाइरहेका छन्, अनि कुरा नेपालको गरिरहेका छन्,’ कम्प्युटर बाबाले भने।
चीनको इशारामा ओलीले भारतको अयोध्यामा दावी गरेको आरोप लगाउंदै भनेका छन्, ‘त्यसकारण नेपालका प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ। अन्यथा भारतको पुरा सन्त समाज एकसाथ सडकमा उत्रिनेछ। एक जना पनि नेपालीलाई यहाँ रहन दिन्नौं। सबैलाई नेपाल लखेट्छौं। होइन भने आफ्नो वक्तव्य फिर्ता लिएर भारत र सन्त समाजसँग माफी माग्नुस्,’ कम्प्युटर बाबाले दोहोर्याए।
यता आफूलाई भगवान रामको वंशज दाबी गर्ने अधिवक्ता अजित रघुवंशीले प्रधानमन्त्री ओलीको विवादित बयानमा दिल्लीस्थित दूतावास र प्रधानमन्त्री निवास बालुवाटारलाई लिगल नोटिस पठाएका छन्।
उनले प्रधानमन्त्री ओलीको बयानलाई सत्यहिन र अशोभनीय भनेका छन्। १५ दिनभित्र नोटिसको जवाफ नदिए अदालत जाने चेतावनीसमेत दिएका छन्।