सभापति देउवाविरुद्ध आफ्नैले दिए उजुरी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सभापति देउवाविरुद्ध आफ्नैले दिए उजुरी



काठमाडौँ – नेपाली कांग्रेसका सभापति देउवाबिरुद्ध कांग्रेसकै नेताहरूले उजुरी दिएका छन् । आउँदो महाधिवेशन प्रभावित पार्ने गतिविधि गरेको भन्दै तीन नेताले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले उजुरी दिएका हुन्। सभापति देउवाले महाधिवेशनको ६ महिनाभित्र मनोनयन नियुक्ति गर्नुपर्ने पदमा महाधिवेशनको तयारी सुरु भएसँगै गरेको भन्दै उनीहरुले उजुरी दिएका हुन्।

पार्टीका विभागलाई २८ बाट बढाएर ४३ पुर्‍याए पनि अहिलेसम्म केहीमा मनोनयन हुन सकेको छैन। बाँकी विभागमा देउवाले नियुक्ति प्रक्रिया अघि बढाएपछि उनी इतर समूहले आपत्ति जनाएको हो।

बुधबार पौडेल पक्षको गुट भेलाले सभापति महाविधेशनलाई प्रभावित पार्ने काममा लागेको भन्दै त्यसका विरुद्ध आवाज उठाउने निर्णय गरेको थियो। कांग्रेसको १४औं महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने गरी तय भएको छ।

उजुरी पत्रमा लेखिएको छ, ‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिताको विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन आदरणीय पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।’