बालुवाटार बैठकबाट माधव नेपाल एकाएक बाहिरिए: चार जनाको छलफल जारी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बालुवाटार बैठकबाट माधव नेपाल एकाएक बाहिरिए: चार जनाको छलफल जारी



काठमाडौं- विवाद सुल्झाउन बालुवाटारमा बसेको बैठकबाट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल एकाएक बाहिरिएका छन् । अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्कमल दाहाल भने अझै छलफल गरिरहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि निकै प्रयास भैरहेपनि निष्कर्ष र समाधान भने निस्किन सकेको छैन ।

नेता नेपाल बाहिरिएसंगै पनि दुई अध्यक्षसँग महासचिव बिष्णु पौडेल र स्थायी कमिटीका नेता जनार्दन शर्मा पनि सहभागी भएका छन्।

प्रधानमन्त्रीको सचिवालयले भने निर्धारित योजना अनुसार नै नेता नेपाल बाहिरिएको बताएको छ। नेता नेपाल बाहिरिए पछि चार जना बीच वार्ता शुरु भएको हो।

१० असार बाट स्थायी कमिटी शुरु भएसँगै ओली–दाहाल बीच भने ‘वान अन वान’ वार्ता हुँदै आएको छ। तर, दुई जना बीचको वार्ताबाट निकास नआए पछि बरिष्ठ नेता नेपाल सहित छलफल भएको छ। १० असार विहान अजेण्डा तय गर्ने छलफलमा भाग लिए पछि नेता नेपाल कुनै पनि छलफलमा बसेका थिएनन्।

तर, १ साउनमा खुमलटारमा प्रधानमन्त्री इतर समूह (सचिवालयका ६ नेता)को छलफल पछि भने तीन नेता बीच छलफल भएको छ। २६ असारमा एक साताका लागि स्थगित गरिएको स्थायी कमिटी भोलि बस्दैछ।