कोरोनाबाट नेपालमा अर्का व्यक्तिको मृत्यु, तर निकै रहस्यमय
वीरगन्ज- वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बुधबार रौतहटका ३६ वर्षीय युवकको मृत्यु भएको छ । तर, उनको मृत्युले नेपालमा कोरोनाको अवस्था सामान्य नभएको देखाएको छ ।
अस्पतालका डाक्टरका अनुसार अस्पताल पुग्दा सामान्य रहेका उनलाई रुघाखोकी बाहेक कुनैपनि स्वास्थ्यमा समस्या थिएन् । पटकपटक स्वास्थ्य जाँच गर्दा पनि शरीरका सबै अंगले राम्रोसँग काम गरिरहेको थियो ।
उनलाई न सुगर थियो, न मुटु तथा किड्नीको समस्या । उमेर पनि ३६ वर्ष मात्र थियो । पिसाबमा पनि कुनै ‘इन्फेक्सन’ थिएन । यो घटनाले अस्पतालका डाक्टर समेत अचम्म परेका छन् । यसरी छोटो समयमा, कुनै लक्षण बिना स्वास्थ्य अवस्था अकस्मात परिवर्तन भएर मृत्यु भएको पहिलो केस हो ।
युवकको बुधबार दिउँसो मृत्यु भएको नारायणी अस्पतालका मेसु डा. उपाध्यायले बताए । परोह नगरपालिकाका स्वास्थ्य इन्चार्ज जलान्धर यादवका अनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमितले आफू भारतको बेंगलुरुमा भाइसँगै बसेको र उनको मृत्यु भएपछि घर फर्किएको बताएका थिए ।
उनका भाइको भारतको बैंग्लोरमा कोरोनाबाटै मृत्यु भएको थियो । बेंग्लोरमा सँगै बस्दै आएका भाइको मृत्यु भएपछि दाजु गत साता रौतहटको परोहा नगरपालिका–७ स्थित घर फर्किएका थिए ।
नेपालमा कोरोना संक्रमित भएर मृत्यु भएका ३९ मध्ये यो फरक केस भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्टले नै बताएका छन् । यो भन्दा अगाडि मृत्यु हुने मानिसहरु कुनै न कुनै रोगले ग्रसित थिए, उमेर पनि बढी थियो र अन्य दीर्घरोग भएरै अस्पतालमा भर्ना भएका थिए । तर यो केसमा मृतकको ट्राभल हिस्ट्री थियो र छिट्टै समस्या देखिएर निधन भयो ।
यो केसले नेपालमा कडा कोभिड देखिएको संकेत गरेको अस्पतालकै डाक्टरले बताएका छन् । त्यसैले यो केसको बिस्तृत अध्ययन गर्नुपर्ने चिकित्सकले बताएका छन् ।