व्यापारीहरूले चलाए बैंक बहिस्कार अभियान - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

व्यापारीहरूले चलाए बैंक बहिस्कार अभियान



काठमाडौं- कर्णालीका व्यापारीहरूले बैंक बहिस्कार अभियान चलाएका छन् । उनीहरूले बैकिङ कारोबार बहिष्कार गर्दै आन्दोलनको घोषणा गरेका छन् । सोमबारदेखि संयुक्त आन्दोलनको घोषणा गर्दै व्यापारीहरूले बैकिङ कारोबार बहिष्कार गर्ने बताएका हुन्।

सुर्खेत उद्योग वाणिज्य संघको आह्वानमा सोमबार वीरेन्द्रनगर बजार बन्द गरिएको छ। कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथामका लागि भएको लकडाउनले आफूहरूमा आर्थिक जोखिम बढाएको भन्दै व्यापारीहरूले बजार बन्द गरेका हुन्।

लकडाउनमा सरकारलाई साथ दिँदादिँदै पनि सरकारले व्यवसायीको धैर्य र सहनशीलतालाई नजर अन्दाज गरेकाले संयुक्त आन्दोलनको घोषणा गरिएको व्यापारीको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्षले कोभिड–१९ ले गर्दा थला परेका व्यवसायीलाई विभिन्न बैंकबाट ब्याज तिर्न आइरहेका दबाबहरूले तनाव दिएको जनाए।

ब्यापारीहरूले समयसाक्षेप चल्न अनुरोध गर्दागर्दै पनि विभिन्न बैंकहरूले दिएको दवाव र तनावका कारण आन्दोलन नै गर्नुपरेको बताएका छन् । यदि सरकारले हाम्रो आग्रह सुनेन भने कडाभन्दा कडा आन्दोलन गरेर घुँडा टेकाउन बाध्य बनाउने उनीहरूले बताएका छन् ।

पसलहरू बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेतस्थित बैंकहरूमा बैंकिङ्ग कारोबार बहिष्कार गरिएको ब्यानरसमेत टाँसेका छन्।