सरकारको नियत: परीक्षण उपकरण र किट किनेको किन्यै गर्ने, परिक्षण झन् घटाउने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सरकारको नियत: परीक्षण उपकरण र किट किनेको किन्यै गर्ने, परिक्षण झन् घटाउने



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दर घटाएर १३ करोड रुपैयाँमा स्वास्थ्य परीक्षण उपकरण खरिद गरेको छ । स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाका अनुसार दुई करोडको पिसिआर परीक्षण गर्ने अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन सातवटा र १० करोड ९९ लाख रुपैयाँको सो मेसिनलाई मिल्ने पाँच लाख किट खरिद गरिएको हो ।

उपकरण भन्सार कार्यालयमा आइपुगेको र केही दिनमा सम्बन्धित ठाउँमा पठाउने तयारी भएको व्यवस्थापन महाशाखाले जनाएको छ ।

‘उपकरण मात्रै खरिद गरेर के परीक्षण गर्ने हो ? हामी आफैँ आश्चर्यमा परेका छौँ,’ स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले भने । स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका अनुसार चीनको मेन्जिङजोङ्के बायोमेडिकलले यो आरएनए एक्स्ट्राक्सन मेसिन उत्पादन गरेको हो । मेसिन मेड्ट्रोनिक्स नेपाल प्रालिले खरिदको जिम्मा पाएको थियो ।

यो मेसिनले एक घन्टाभित्र ९६ नमुना परीक्षण गर्ने अधिकारीहरूले बताएका छन् । यसअघि आरएनए एक्स्ट्राक्सन गर्न चारदेखि पाँच घन्टासम्म समय लाग्ने भएकाले परीक्षणमा ज्यादै ढिला भएको भन्दै नयाँ मेसिन खरिद गरेको मन्त्रालयले जनाएको अर्जुन अधिकारीले नयाँपत्रिकामा लेखेका छन् ।

सरकारले खरिद गरेको सात मेसिन विभिन्न जिल्लामा पठाइने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार ती मेसिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नारायणी अस्पताल वीरगन्ज, प्रादेशिक प्रयोगशाला पोखरा, भेरी अस्पताल नेपालगन्ज, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत, प्रादेशिक प्रयोगशाला धनगढीमा एक/एकवटा र एउटा केन्द्रमा रहनेछ ।