स्थानीय तहमा लैंगिक समानता र सामाजिक समावेशीकरणमा धेरै काम गर्न बाँकी
बुटवल- स्थानीय तहले लैंगिक समानता र सामाजिक समावेशीकरणमा धेरै काम गर्न बाकी रहेको सरोकारवालाहरुले बताएका छन् ।
संघीयतासंगै केही नमुना कार्यक्रम थालिएपनि ती कार्यक्रम प्रयाप्त नभएको उनीहरुले बताए । शिक्षा, स्वास्थय, रोजगारी लगायतमा महिलासंगै लैंगिक तथा यौनिक अल्पसंख्यक, जातिगत अल्पसंख्यक, पछाडि परेको वर्गलाई अगाडि ल्याउन बजेटको प्रतिशत र कार्यक्रम बढाउन उनीहरुले सुझाब दिए । रसंचारिका समूह नेपाल प्रदेश ५ र युएनडिपीले शुक्रबार आयोजना गरेको स्थानीय तहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको बजेट र कार्यक्रम विषयक भर्चुअल अन्तरक्रियामा सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रममा सरोकारवालासहित प्रदेश ५ का ११ जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख , प्रमुख प्रशाशकिय अधिकृत तथा कार्यपालिका सदस्यहरु सहभागी थिए । उनीहरुले भने लैंगिक तथा सामाजिक समावेशीकरणमा बजेट र कार्यक्रम सुधार हुदै गएपनि ठ्याक्क मापन हुने अवस्था नआएको बताए । धेरै स्थानीय तहले गर्भवती तथा सुत्केरीका लागि निशुल्क एम्बुलेन्स, पोषण, अपांगता, लैंगिक अल्पसंख्यक एकल महिला लगायतलाई सीपमूलक कार्यक्रम चलाएर प्रत्यक्ष देखिने काम भएको बताए ।
बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले सीप, शिक्षा, रोजगार र स्वास्थयलाई मध्यनजर गरेर कार्यक्रम संचालन गरेको बताइन । लैंगिक तथा घरेलु हिंसा प्रभावीत र सडक मानव मुक्त अभियानलाई प्रभावकारी बनाउन आफू लागेको उनले बताइन ।
तुलसीपुर नगरपालिकाका उपप्रमुख माया आचार्यले पूजीगत बजेटबाटै सम्बोधन हुनेगरी महिला बालबालिका र सामाजिक रुपमा पछाडि परेको वर्गको हीतमा काम गरेको बताइन । यद्यपि उपमहानगरका जनप्रतिनिधिसंगै उक्त बजेट छुट्याउन समस्या हुने उहाको भनाइ थियो । रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवरले स्वास्थय सुधार, सीप र क्षमता विकासमा धेरै लगानी गरेकाले आउदो वर्षबाट नतिजा देखिने बताइन ।
रेसुंगा नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मी पाण्डेले हरेक कार्यक्रमलाई लैंगिक समावेशीकरणयुक्र बनाउने प्रयास गरेको बताइन । छत्रकोट गाउपालिका उपाध्यक्ष नर्मदा भण्डारीले भौतिक पूर्वाधारका काम जस्तो लैंगिक र सामाजिक समावेशीकरणका उपलब्धी देखाउन नसकिने भएकाले यस्ता कार्यक्रममा धेरुले अरुचि देखाउने बताइन । यद्यपि हिंसा न्युनिकरण र सीप विकासमा आफूहरुले लगानी गरेको उनको भनाइ थियो ।
अन्तरक्रियामा कार्यक्रममा अधिकारकर्मी ज्ञानु पौड्यालले स्थानीय तहले लैंगिक समानता र सामाजिक समावेशीकरणमा गर्नुपर्ने कामबारे जानकारी गराएकी थिइन् । कार्यक्रममा अधिकारकर्मी, देवी वाग्ले , रीता सेन, आनीक राना मगर, विन्दु थापा, लक्ष्मी आचार्य, रन्जीता शर्मा, उषा किरण पन्थ लगायतले स्थानीय तहका जनप्रतिनिधिहरुसंग प्रश्न तथा अब गर्नुपर्ने कामबारे सुझाब दिएका थिए ।
अन्तरक्रियामा कार्यक्रमको सहजीकरण संचारिका समूह नेपाल प्रदेश ५ का महासचिव अमृता अनमोलले गरेकी थिइन् । युएनडिपीका प्रदेश संयोजक सुदीप अर्यालले दीगो विकासको लक्ष्यामा पुग्न स्थानीय तहले लैंगिक समानता र सामाजिक समावेशीकरणमा के गर्नुपर्ला भन्नेबारेमा सुझाब दिएका थिए ।