जी न्युजका सम्पादकले नेपालीसँग क्षमा माग्दै स्वीकारे गल्ती

एजेन्सी – विवादित भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग माफी माग्दै आफूले लेखेको ट्वीट हटाएका छन् ।
उनले यो ट्वीटबाट नेपालीहरूमा आहत पुगेको भन्दै लेखेका छन् ‘यस ट्वीटबाट हाम्रा नेपाली दर्शकलाई आहत भएको छ । यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आहत बनाउन होइन । यसैले म खेद व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु ।’
सुधीरले नेपालप्रति दिएको अभिव्यक्तिप्रति क्षमा मागेका छन् । उनले नेपालमा भारतीय न्युज च्यानल बन्द गरेको खबर पाएपछि आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको बताएका छन् ।
‘यस ट्वीटबाट हाम्रा नेपाली दर्शकलाई आहत भएको छ । यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आहत बनाउन होइन । यसैले म खेद व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु,’ उनले लेखेका छन् ।
जी न्युजकै प्रान्तीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीको चरित्रहत्या गर्ने उद्देश्य स्वरुप भिडियो स्टोरी प्रशारण गरेपछि केही नेपाली डिटिएच र केबल अपरेटरहरुले भारतीय न्युज च्यानल प्रशारण बन्द गरेका थिए ।


