५० प्रतिशत भाडा बढाएर सार्वजनिक सवारी चलाउन दिने सरकारको निर्णय
काठमाडौँ- सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिने भएको छ । यस्तै, अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले असार १२ गते सरकारले गरेको निर्णयका सम्बन्धमा सरकारले परिपूरक निर्णय गरेको बताए ।
लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीलाई भने चल्न दिइने छैन ।
पचास प्रतिशत बढी भाडा बढ्यो
जिल्लाभित्र चल्ने सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर मात्रै यात्रुहरु चढाउन पाइनेछ । ती सवारीमा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाइनेछ ।
यस्तै, सवारी साधानको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ । चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनु पर्नेछ ।
आधामात्रै यात्रु चढाउन पाउने भएपछि सार्वजनिक सवारी संचालकले कायम भाडाभन्दा पचास प्रतिशतसम्म बढी भाडा उठाउन पाउने सरकारले निर्णय गरेको छ ।