अमानवीय भारत भन्दा मानवीय चीन ठिक: मन्त्री योगेश भट्टराई
काठमाडौं- नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै आलोचना भैरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने भारत भन्दा चीन राम्रो भएको प्रतिक्रिया दिएका छन् । भट्टराईले छिमेकी मुलुकका राजदूतहरुकाे कुरा सुन्दैमा केही नबिग्रिने समेत बताएका छन्।
नेकपामा बढिरहेको विवादका क्रममा चिनियाँ राजदूत होउ यान्छीको गतिविधिलाई लिएर भइरहेको टिप्पणी र आलोचनाका सन्दर्भमा भट्टराईले यस्तो बताएका हुन्। उनले कूटनीतिज्ञहरुको कुरा सुन्दा केही नबिग्रिने बताएका छन् ।
भट्टराईले कुरा सुनेर केहि नबिग्रने भन्दै उनीहरुका कुरा मान्ने नमान्ने अधिकार नेपालीमै निर्भर रहेको समेत बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले सरकार ढाल्ने चलखेल गरेको अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद चुलिएका सन्दर्भमा केही दिनयता चिनियाँ राजदूत सक्रिय भएकी छन्।
पार्टीभित्रको विवाद साम्य नहुँदा चिनियाँ राजदूतले शीर्ष नेताहरूसँगको भेटलाई तीव्र बनाएकी छन्। आइतबार वरिष्ठ नेता नेपाललाई कोटेश्वरमा भेटेकी राजदूत यान्छीले मंगलबार वरिष्ठ नेता झलनाथ खनाललाई डल्लु पुगेर भेटेकी छन्।
नेकपाभित्रको विवादका क्रममा दोस्रो पटक उनले आफूलाई सक्रिय बनाएकी हुन्। राजदूत यान्छीको सक्रियतालाई लिएर विभिन्न टिप्पणीसमेत भइरहेका छ। यही बिषयमा केन्द्रित रहेर नेकपा स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले भारतलाई लक्षित गरी कडा टिप्पणी गरेका हुन्।
‘संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठीक वा संविधान निर्माणप्रति सद्भाव राख्नु ठीक? पहिलो र दोश्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्भाव राख्नु ठीक?’,
उनले भारतले लगाएको नाकाबन्दी समेत सम्झंदै भनेका छन् । ‘नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देऊ भन्नु ठीक?’,
त्यतिमात्र होइन भट्टराईले पार्टी फुटाउने र सरकार गिराउने भारतीय खेलबारे पनि टिप्पणी गरेका छन् ।, ‘पार्टी-पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टी बीचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्भाव राख्नु ठीक?’
‘कुनै पनि विदेशी राजनीतिक तथा कूटनीतिक गतिविधिलाई यसै सन्दर्भबाट हेरियो भने सही हुन्छ’, ‘कसैको पनि कुरा सुन्नु राम्रो हो। मान्ने नमान्ने अधिकार हाम्रो हो।’ भट्टराईले भनेका छन् ।