चिनियाँ राजदूतको सक्रियता: झलनाथ खनाल भेट्न बिहानै पुगिन निवास
काठमाडौं । नेकपा नेता झलनाथ खनाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । विहान खनाललाई भेट्न राजदूत यान्छी डल्लुस्थित निवासमा पुगेकी थिइन्।
भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान करिब ९ बजे ११ सीडी ०१ नम्बरको जीपमा खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको जनाइएको छ ।
चिनियाँ राजदूत होउ याङ्छीले हिजो मात्रै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन्। त्यस्तै गत वैशाख तेस्रो हप्ता सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा पनि चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी थिइन्।
त्यतिबेलै विभाजनको संघारमा पुगेको नेकपाभित्र मेलमिलाप भएको थियो। राजदूत होउकै सक्रियताका कारण नेकपाको विभाजन टरेको त्यतिबेलै टिप्पणी भएको थियो ।
चिनियाँ राजदूत होउको सक्रियताका बारेमा आलोचना हुन थालेको छ। राप्रपाका अध्यक्ष कमल थापाले रिमोटले चलेको गणतन्त्र भनेर ट्वीट गरेका छन्। यस्तै कांग्रेसका नेताले पनि विदेशी हस्तक्षेप बढेको भन्दै आलोचना गरेका छन्।
नेता खनाल र होउबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन । तरपनि नेकपाको विवाद उत्कर्षमा पुगेकाबेला होउको सक्रियतालाई राजनीतिमा चासोको दृष्टिले हेरिएको छ।
नेता नेपाललाई भेटेको दोस्रो दिन नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि सारिएको थियो ।