सन्दीप लामिछानेको अर्को सफलता
काठमाडौं- नेपालका विश्वचर्चित क्रिकेटर तथा युवा स्पिनर सन्दीप लामिछानेले अर्को सफलता हात पारेका छन् ।
क्यारेबियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने भएका छन् ।कोरोना भाइरसको महामारीका कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका हुन् ।
उनले ड्राफ्टमा ९० हजार डलर मूल्य तोकेका थिए । सन्दीप पहिलो संस्करणमा ५ हजार तथा दोस्रो संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए ।
अहिले तेस्रो संस्करणमा उनी ९० हजार डलरमा अनुबन्ध भएका छन् । यो सन्दीपको अहिलेसम्मकै सर्वाधिक ठूलो अनुबन्ध पनि हो । सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् ।
सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सन्दीपले यसअघि सीपीएल खेलिसकेका छन् ।