नेताहरूसँग राष्ट्रपतिले भनिन: तपाईंहरूले त्यसो गर्नुहोला भनेर कल्पना पनि गरेकी छैन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेताहरूसँग राष्ट्रपतिले भनिन: तपाईंहरूले त्यसो गर्नुहोला भनेर कल्पना पनि गरेकी छैन



काठमाडौं- शनिबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरूलाई बोलाएर राष्ट्रपतिमाथि महाअभियोग लगाउने बिरोधि समुहले तयारी गरेको बताएपछि नेकपाको विवादले अर्कै मोड लिएको छ ।

प्रधानमन्त्री ओलीको उक्त भनाईको बारेमा यथार्थ जानकारी गराउन बिहानै शितन निवास पुगेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोगको हल्ला निराधार रहेको भन्दै प्रधानमन्त्रीको गलत कदममा साथ नदिन आग्रह गरेका छन् ।

बिहान ११ बजे शीतल निवास पुगेका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपति भण्डारीलाई भेटेर महाभियोगको हल्ला एकदमै निराधार, कपोलकल्पित रहेको बताएका हुन् ।

वरिष्ठ नेता झलनाथ खनालका अनुसार राष्ट्रपतिलाई ढुक्क बनाएर फर्किएको बताएका छन् । महाभियोगको तयारी हुँदैछ भनेर हल्ला चलाइएको पार्टीभित्रको विवादमा राष्ट्रपतिलाई बिचमा ल्याएर थप विवाद सृजना गर्न खोजिएको बारे नेताहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रपति भण्डारीले तपाईंहरूबाट मैले पनि त्यस्तो कल्पना गरेको छैन, मलाई त्यस्तो कुरामा विश्वास छैन, भनेर जवाफ फर्काएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राति मन्त्री, राज्यमन्त्रीलाई बोलाएर म र राष्ट्रपतिविरूद्ध षड्यन्त्र भएको बताएका थिए ।