डिभी चिट्ठा परेका २६ सय बढी नेपालीले भिसा नपाउन सक्छन
काठमाडौं । सन् २०२० को अमेरिकी डिभी चिट्ठाका लागि छनौट भएका २६ सय बढी नेपालीहरु भिसा पाउने नपाउने अन्योल भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को अन्त्यसम्मका लागि कामदार भिसा र अधिकांश आप्रवासी भिसामा रोक लगाएपछि सन् २०२० का लागि डिभीमा छनौट भएकाहरुको भिसा अन्योलमा परेको हो ।
अमेरिकाबाट संचालित खसोखास डटकम नेपाली न्यूज पोर्टलले लेखेको समाचार अनुसार अप्रिल २३ देखि लागु गरिएको आप्रवासन भिसाको प्रतिबन्ध बढाएर डिसेम्बरको अन्त्यसम्म बनाइएकाले भिसामा अन्योलता देखिएको हो ।
सन् २०२० को डिभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु भिसाको प्रतिक्षामा रहेका थिए ।
उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्मा भिसा पाइसक्नुपर्ने नियम रहेकोमा डिसेम्बरको अन्त्यसम्म लगाएको आप्रवासन रोकले उनीहरुले भिसा नपाउने निश्चित भएको छ ।
सेप्टेम्बरसम्म भिसा नपाएपछि सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ । सन् २०२१ को डिभीका लागि छनौट भएकाहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने नियम रहेपनि आप्रवासन रोकका कारण अब उनीहरुको भिसा कम्तीमा सन् २०२१ को जनवरीसम्मका लागि स्थगित भएको छ ।
सन् २०२० को डिभी लोटरीका लागि भिसा फर्म भरेर अन्तरवार्तामात्र कुरेकाहरुको सन्दर्भमा भिसा शुल्क के हुने भन्नेबारे केही बताइएको छैन ।
अप्रिल २३ मा ट्रम्पले आप्रवासनमा रोकको घोषणा गरेयता मे महिनामा विश्वभरबाट कोहीपनि डिभी लोटरी विजेताहरुलाई भिसा दिइएको छैन ।
मे महिनामा ६९७ जनाले आप्रवासी भिसा पाएपनि अधिकांश भने अमेरिकी नागरिकका दम्पत्ति र २१ बर्ष उमेर नपुगेका छोराछोरीहरुमात्र रहेका छन् ।
अमेरिकाको आप्रवासी भिसा पाइसकेका सयौं डिभी विजेता नेपालीहरु कोरोनाको महामारीका कारण नेपालमा नै अड्कीएका छन् । उनीहरुको भिसाको अवधि ६ महिना नाघेपछि नयाँ भिसा जारी हुने नहुनेबारे पनि केही बताइएको छैन ।
मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।
मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो ।
तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्चमहिनामा प्राथमिक डिभी विजेता ११२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।
फरबरीमा भने डिभी विजेता, उनीहरुका दम्पत्ति र छोराछोरीगरी ३०३ जना नेपालीहरुले भिसा पाएका थिए ।
उनीहरुमध्येका कैयन कोरोनाको महामारीका कारण अमेरिका आउन पाएका छैनन् । त्यस्तै जनवरीमा ४१२ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए ।
भिसाको अवधि ६ महिनाको हुने भएकाले मार्च वा अप्रिलमा अमेरिका आउने योजना बनाएका उनीहरुमध्येका पनि नेपालमै रोकिएका छन् ।
डिसेम्बरमा ४६०, नोभेम्बरमा ३२५ र अक्टोबरमा ८० नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।
तीमध्येका केहीले समेत मार्चको दोश्रो सातापछि वा अप्रिलमा अमेरिका आउने योजना बनाएका थिए । तर उनीहरु पनि नेपालमा नै रोकिएका छन् ।
चालु आर्थिक बर्षका लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये जम्मा १०६९ जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गरिसकेका छन् ।