संसदमा रत्यौली खेल्न मिल्दैन, त्यसैले बन्द गरियो: मन्त्री पद्मा अर्याल - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

संसदमा रत्यौली खेल्न मिल्दैन, त्यसैले बन्द गरियो: मन्त्री पद्मा अर्याल



काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले संसद रत्यौली खेल्ने ठाउँ जस्तै भएकाले बन्द गरिएको बताएकी छन् ।

एक कार्यक्रममा उनले संसद रत्यौली खेल्ने ठाउँ जस्तै नभएकाले काम नभएर बन्द गरिएको टिप्पणी गरेकी हुन् । संसद अधिवेशन कहिले बोलाउने वा कहिले बन्द गर्ने र के बिजनेश दिने सरकारको कुरा भएको उल्लेख गर्दै मन्त्री अर्यालले संसद अधिवेशन अन्त्य र सत्तारूढ नेकपाको जारी स्थायी समिति बैठकलाई जोडेर हेर्न नहुने समेत बताएकी छन्।

उनले स्थायी समितिका एजेन्डा र संसद कारवाहीमा मेल नखाने पनि बताइन्। कोरोना महामारीकै बीच भए पनि बजेट ल्याउन संसद अधिवेशन बोलाइएको थियो भन्दै उनले अहिले छलफलका कुनै एजेन्डा वा बिजनेश नभएको अधिवेशन अन्त्य गरिएको दाबी गरेकी हुन्।

‘बजेट ल्याउनु थियो। महामारीबीच पनि अधिवेशन बोलाउनुपर्‍यो, बोलायौं,’ मन्त्री अर्यालले भनिन्, ‘बजेट पास भयो। केही विधेयकहरू छलफल गर्नुपर्ने थिए सहमति जुटेन। बिजनेश थिएन। संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन। त्यसैले रत्यौली खेल्न संसद चाहिएन।’

उनले बिजनेश नभएकैले सरकारले संसद अधिवेशन रोकेको दाबी गरेकी हुन्। ‘बिजनेश थिएन सरकारले रोक्यो,’ उनले भनिन्, ‘पार्टीको स्थायी समिति र अधिवेशन अन्त्यमा मेल खाँदैन।’ शनिबार आयोजित ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसमा उनले पछिल्ला घटनाक्रमले विकास निर्माणका काममा अवरोध पुर्‍याएको बताइन्।

पार्टीभित्र भनाभन भए पनि संवादबाटै समस्याका समाधान खोजिने उनको भनाइ छ। असार १८ गते मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि त्यही दिनदेखि संसद अधिवेशन अन्त्य भएको थियो। नेकपाभित्र विवाद देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन अकस्मात संसद अधिवेशन अन्त्यको निर्णय मन्त्रिपरिषदबाट गराएको भन्दै पार्टीभित्रै विवाद भएको थियो।