कारबाही गरेर भएपनि पार्टी फुट्न नदिने सचिवालयका बहुमत सदस्यको निष्कर्ष - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

कारबाही गरेर भएपनि पार्टी फुट्न नदिने सचिवालयका बहुमत सदस्यको निष्कर्ष



काठमाडौं । सत्तारुढ दल नेकपामा चर्किएको विवादका बीच समाधानका लागि भन्दै जारी स्थायी कमिटि बैठक दुई दिन पछाडी सारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने अन्तिम तयारी गरेको निष्कर्ष निकाल्दै प्रचण्ड- नेपाल समुहले भने पार्टीलाई फुटबाट बचाउने र समस्याको स्थायी हल खोज्नेगरी सचिवालयका बहुमत सदस्यसंग छलफल गरेका छन् ।

स्थायी कमिटी बैठक दुई दिनलाई सरेपछि नेकपाका ६ जना सचिवालयका नेता बैठक बसेर पार्टी एकताका लागि अन्तिमसम्म सङ्घर्ष गर्ने निष्कर्ष निकालेका हुन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानमा यथावत रहेपछि पार्टी बचाउनुपर्ने दायित्व आएको एक नेताले बताए ।

शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसहितका नेता भेला भएका थिए ।

६ जना नेताको अनौपचारिक बैठकले स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको छ । “पार्टी कमिटी नै सर्वोपरी हो । कमिटीले जे फैसला गर्छ मान्नु हामी सबैको कर्तव्य हुनेछ ।” बैठकपछि एक नेताले बताए ।

पार्टी फुटबाट पनि रोक्ने र प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजिनामा पनि गराउने गरी आजको बैठक सकिएको सचिवालयकै एक नेताले जनाकारी दिए ।

प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने संकेत गर्दै एक नेताले भने पार्टीको निर्णय र स्थायी कमिटिको निष्कर्ष अन्तिम हुने, त्यहाँबाट जे निर्णय भएपनि मान्नुपर्ने उनले बताए।

स्थायी कमिटीको बैठक चलिरहेको अवस्थामा बैठकबाहिर समाधान खोज्ने कुरा नहुने भन्दै जे निर्णय गरेपनि स्थायी कमिटीले गर्ने उनले बताए ।