उपत्यकामा भयाबह हुने संकेत: ढल परिक्षण गर्दा भेटियो कोरोना भाइरस
काठमाडौं- काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको विज्ञहरूले बताइरहेका बेला उपत्यकाको ढलको परिक्षण गर्दा कोरोना भाइरस भेटिएको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोरोना भाइरस फेला परेको हो।
सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरेको थियो त्यो मध्ये २ ठाउँको ढलमा कोरोना भेटिएको बताईएको छ ।
यससंगै उपत्यकामा समुदायमै कोरोना संक्रमण फैलिएको देखाएको छ । समुदायमा कोरोना संक्रमण भएको छ कि छैन भनेर विभिन्न देशले स्थानीय धेरै चीजको अध्ययन गर्ने गरेका छन् त्यस्तै काठमाडौंमा सिएमडिएनले ढलको परिक्षण गरेको थियो ।
यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने विज्ञहरूले बताएका छन् । यसरी अध्ययन गर्दा संक्रमण फैलिइएको क्षेत्रको पहिचान हुने र जसको कारण समुदायमा संक्रमण पत्ता लगाउन परीक्षण गर्दा किटहरु समेत बचत हुने बताईएको छ ।
विज्ञका अनुसार यो अध्ययनलाई आधार मानेर ढलमा संक्रमण देखिएको क्षेत्रको मानिसमध्येबाट जोखिम समूह छ्ट्याएर परीक्षण गर्न सकिन्छ । प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको सिएमडिएनले बताएको छ । सिएमडिएनले अन्य धेरै क्षेत्रको ढलको स्याम्पल ल्याएर परिक्षण गर्ने तयारी गरिरहेको बताइएको छ ।
अब पनि सामाजिक दुरी कायम नगर्ने हो र अन्य सुरक्षाका उपाय नअपनाउने हो भने संक्रमण जोखिम समूहमा छिर्न सक्ने विज्ञको दाबी छ ।