प्रचण्डका कुरा सुनेर ओली समुहका नेताहरू भावुक बनेर फर्किए - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

प्रचण्डका कुरा सुनेर ओली समुहका नेताहरू भावुक बनेर फर्किए



काठमाडौं- पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीनिकट स्थायी कमिटी सदस्यहरूलाई निवासमै बोलाएर छलफल गरेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विष्णु पौडेलसहितका नेता प्रचण्ड निवासमा पुगेका थिए ।

उपस्थित नेताहरूसंग अध्यक्ष प्रचण्डले लामो समयदेखि केपी ओलीको अपमान सहेर पार्टीलाई बचाएको गुनासको गरेका छन् । नेताहरूसँग प्रचण्डले पार्टी एकताको अढाइ वर्ष अत्यन्तै अपमानित भएर बस्नुपरेको, ह्युमिलेट अनुभूत गर्नुपरेको भन्दै दुःखमनाउ गरेको छलफलमा सहभागी नेताले बताए ।

बैठकमा निकै भावुक बनेका प्रचण्डले सबै कुरा खुलस्त बताएका थिए । प्रचण्डका कुरा सुनेर अन्य नेताहरू पनि भावुक बनेको एक नेताले बताए । पार्टीमा साथीहरूको मुख हेरेर हरेक दिन अपमान सहेर बसेको छु । पार्टीलाई टुट्न दिन्न भनेर ओलीका अनेकौं बचन सुनेर पनि नसुनेको जसरी अहिलेसम्म पार्टी र सरकारलाई बचाउने प्रयास गरेकै थिएँ भन्दै प्रचण्डले गुनासो गरेको एक नेताले बताए ।

“परिस्थिति निकै गम्भीर छ । सोचेभन्दा पनि गम्भीर छ । यसै होला भनेर म पनि भन्न असमर्थ छु । आज प्रचण्डले अढाइ वर्ष अनुभूत गरेको खुरा खुलाखुलस्त भन्नुभयो । उहाँले मैले ह्युमिलेट फिल गरेँ भन्नुभयो,” एक नेताले बताए ।

छलफलमा ओली पक्षका स्थायी कमिटीमध्ये पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ, छविलाल विश्वकर्मा थिएनन् । झन्डै साढे तीन घण्टा छलफल चलेको थियो ।

ओलीनिकट नेताहरूले दुई अध्यक्षकै पहलकदमीका कारण पार्टी एकता भएकाले अहिले विभाजनको दिशामा जान नहुने बताएका थिए । पार्टीभित्र जति पनि समस्या छन्, ती सबै दुई नेता एकठाउँमा बसेर हल गर्नुपर्ने बताएको नेम्वाङको भनाइ छ ।

कतिपय नेताहरू प्रचण्डको कुरा सुनेर निकै चिन्तित बनेको पनि एक नेताले बताएका छन् । पार्टीभित्र प्रचण्डले निकै हेपाई सहेका रहेछन आज बल्ल थाहा भयो ति नेताले बताए ।

प्रचण्डले खुलस्त ढङ्गले कुरा राखेको भन्दै ओलीनिकट स्थायी कमिटी सदस्य आशावादी भने बनेका छन् । बैठकमा नेताहरूसंग प्रचण्डले मेरा कमजोरी के के हुन् तपाईंहरू भन्नुहोस भन्दा नेताहरू अकमक्क परेका थिए । “ मबाट के कमजोरी भयो, ड्यामड्याम भन्नुस्’ प्रचण्डको भनाई उद्घृत गर्दै एक नेताले बताए ।

तर नेताहरूले प्रचण्डको एउटा पनि गल्ति बताउन भने सकेनन्, बरू तपाईंहरू मुल्ल्नुको विकल्प छैन भन्दै फर्किए ।