मन्त्री योगेश भट्टराई बाहेक सबैले मागे प्रधानमन्त्रीको राजिनामा
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बुधबार बसेको एक घन्टे बैठकमा पनि नेताहरू प्रधानमन्त्री ओलीमाथि खनिएका छन्। प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।
बुधबारको बैठकमा छोटो समयमा बोलेका ५ जना सदस्यमध्ये चारजनाले प्रधानमन्त्रीको राजिनामा मागेका छन् । राजीनामा नमाग्नेमा पर्यटनमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराई मात्रै भएको स्रोतले बताएको छ ।
आजको बैठकमा पर्यटनमन्त्री भट्टराईले नेताहरुका बीचमा छलफल गरेर निकास निकाल्नुपर्ने मध्येमार्गी बाटो देखाएका थिए भने बाँकी सदस्यले अब पार्टी र सरकार चलाउन अयोग्य भएकाले छाड्नुपर्ने बताएका थिए ।
स्थायी कमिटी सदस्य पेशल खतिवडाले प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टी र सरकारलाई निषेध गरेको देखिएको बताउँदै आलोचना गरेका थिए । उनले प्रधानमन्त्रीको अभिव्यक्ति सांस्कृतिक र वैचारिक विचलन भएको भन्दै कूटनीतिक मर्यादाको पनि ख्याल गर्न नसकेको आरोप लगाएका थिए । उनले भने, ‘प्रधानमन्त्रीबाट आत्मालोचना गर्दै सरकारले नछाडे पार्टी अध्यक्षबाट राजीनामा दिनैपर्छ ।’

बैठकमा अर्का स्थायी कमिटी सदस्य मातृका यादवले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी नभइ गुट चलाएको आरोप लगाएका थिए ।
उनले ओलीको पार्टी चलाउने योग्यता नै नपुग्ने भन्दै तत्काल राजीनामा दिन माग गरेका थिए । अर्का सदस्य नन्द प्रसाइँले पनि प्रधानमन्त्रीले जिम्मेवारी नबुझेको भन्दै आलोचना गरेका थिए । अब पार्टीले सोच्नुपर्ने उनको धारणा थियो ।
यसअघि मंगलबार बसेको बैठकमा अध्यक्ष ओलीले मदन जयन्तीका दिन दिएको अभिव्यक्ति गम्भीर भएको भन्दै नेताहरुले तत्काल राजीनामा दिन माग गरेका थिए ।
मदन जयन्तीका दिन नयाँ नक्सा जारी भएपछि आफूलाई सरकारबाट हटाउन दूतावास सक्रिय भएको र त्यसमा केही आफ्नै पार्टीका नेताहरु पनि जोडिएको टिप्पणी गरेका थिए ।
मंगलबारको बैठकमा धारणा राख्ने प्रधानमन्त्री ओलीबाहेकका बाँकी सबै सदस्यले राजीनामा दिन माग गरेका थिए ।