बालुवाटारमा नेताहरूले भने: तपाईं पार्टीको निर्णय मान्नुस, हामी राजिनामा दिन तयार छौं
काठमाडौँ- जारी स्थायी कमिटि बैठकमा आफ्नै पार्टीका नेताले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिन चर्को दवाव दिएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमाआफू निकट नेताहरूको भेला बोलाएर छलफल गरेका छन् ।
संकटमा चुलिएका बेला प्रधानमन्त्री ओलीले बुधबार बिहान आफूनिकट मन्त्री तथा सांसदसँग सरकारी निवास बालुवाटारमा गरेको छलफल केहीबेरअघि सकिएको छ।
छलफलमा सरकारका मन्त्रीहरूले आवस्यक परे राजिनामा दिन सक्ने बताएका थिए । उपस्थित नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन् ।
सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा मंगलबार शीर्ष नेताहरुसहितले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागेपछि सल्लाहका लागि उनले बोलाएको बैठकमा उनलाई यस्तो सुझाव दिइएको हो ।
‘अधिकांश नेता र मन्त्रीहरुले पार्टी कमिटीले गरेको निर्णय स्वीकार्छु भनेर अघि बढ्न सुझाव दिएका छौं,’ कृषि मन्त्री घनश्याम भुसालले भने । भुसाललगायत केही मन्त्रीले प्रधानमन्त्रीलाई अप्ठेरो परेको खण्डमा आफूहरुलगायत मन्त्रिपरिषद्का आधाजति मन्त्री राजीनामा दिन तयार रहेको पनि बताएका थिए ।
छलफलको सुरुमै प्रधानमन्त्री ओलीले आफूलाई कर्नर गरिएको अपमानित गरिएको बताएका थिए । उनीपछि बोल्दै भुसालले ओलीका विषयमा आफ्नो मूल्यांकन सुनाएका थिए । भुसालले भने, ‘मैले उहाँका बारे मेरो मूल्यांकन पनि सुनाएँ-तपाई बलियो हुँदा लोकतन्त्र कमजोर हुन्छ, तपाईं कमजोर हुँदा राष्ट्रिय हित कमजोर हुन्छ ।’
भुसालले पार्टीकै कारण सत्ता र शक्ति प्राप्त भएको भन्दै म नै सर्वोपरि हुँ भन्ने नसोची पार्टीलाई नै सबैकुरा समर्पण गर्छु भनेर अघि बढ्न सुझाव दिएका थिए । ‘तपाईं कमिटीको कुरा मान्छु भनेर अघि बढ्नुस् कमिटीले सबैको मानमनितो राखिदिनेछ,’ भुसालले आफूले छलफलमा बोलेको बताए ।