जागिर गरेको छोटो समयमै तीन करोड अवैध आर्जन गर्ने लेखापाल
काठमाडौं- मालपोत कार्यालय बाराका लेखापाल युगल किशोर ठाकुरले तीन करोड रुपैयाँभन्दा बढी अवैध आर्जन गरेको खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट लेखापाल ठाकुरले करिब आठ वर्षको जागिरे अवधिमा ३ करोड ४ लाख ९४ हजार ३०० रुपैयाँ गैरकानुनी आर्जन गरेको खुलेको हो।
२०६८ माघ ९ मा कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट सहलेखापाल पदमा जागिर सुरु गरेका ठाकुरको २०७६ बैशाख मसान्तसम्ममा जम्मा वैध आम्दानी १० लाख ८० हजार सात सय मात्र खुलेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।
२०७२ बैशाख २२ मा उनी लेखापाल पदमा बढुवा भएका थिए। अख्तियारका अनुसार राजस्व रकमलाईसमेत आफू अनुकूल खर्च गर्न सक्नेगरी तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ता र लेखापाल ठाकुरले संयुक्त नाममा खोलेको खातामा जम्मा गरेको खुलेको छ।
अवैध आर्जन गरेको रकममध्ये ठाकुरले पत्नी शोभा कुमारीको नाममा बारामा ७.१० कट्ठा जग्गा खरिद गरेको खुलेको छ।
यस्तै ठाकुर र गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा रहेको व्यक्तिगत खातामा २ करोड ७६ लाख ४४ हजार जम्मा रहेको अख्तियारले जनाएको छ।
ठाकुरको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा ११ लाख ३९ हजार रुपैयाँ रहेको तथा उनको घरबाट २४ लाख ९२ हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ।
ठाकुरले अवैध आर्जन गरेको ३ करोड ४ लाख ९४ हजार ३०० रुपैयाँ बिगो माग दाबी गर्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।