प्रधानमन्त्री र राष्ट्रपतिको विरोध गर्ने सबै सामन्ती हुन्: प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोझै गणतन्त्रको विरोध गर्न नसक्नेहरुले राष्ट्रपति र प्रधानमन्त्रीको विरोध गरिरहेको बताएका छन्। मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको एक कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘गणतन्त्रको विरोध सोझै गर्न सकेनन्, त्यसैले अहिले राष्ट्रपति र प्रधानमन्त्रीको विरोधमा उत्रिएका छन्’, उनले भने, ‘हामी जित्ने छौं एक दिन’, गीत हामी जेलमा पनि गाउँथ्यौँ। त्यो गीत अहिले पनि धेरै ठाउँमा त्यो गीत सान्दर्भिक छ। हामीले जितिसकेका छौं, बुर्जुवाहरू पछारिएका छन्। त्यहीकारण विरोध गरिरहेका छन्। गणतन्त्रको विरोध सोझै गर्न सक्दैनन्। त्यही भएर कहिले राष्ट्रपतिले लगाएको साडीको विरोध गर्छन्। कहिले कर्मचारीले किनेको कार्पेटको नाममा विरोध गर्छन्।’
मदन भण्डारीको विचारसँग सोझै टक्कर गर्न नसकेपछि गलत विचारको सहारा लिएर विरोध भइरहेको उनले बताए। ‘भारतले मिचेको भूमिलाई नेपालको नक्सामा राख्ने सन्दर्भमा मैले संसदमा एउटा कुरा भनेको थिएँ, ‘सत्य मेव जयते’, कयौं पटक सत्यले हार्छ। सन् १९६२ देखि अहिलेसम्म कालापानी लिम्पियाधुरामा सत्य हारिरहेको छ। तर अब सत्यले जित्छ, अन्तिममा सत्यले जित्छ।’ ओलीले एउटा गरिबको छोरो प्रधानमन्त्री बनेकोमा केहीलाई खपिनसक्नु भएको बताए।
‘वंशजकै कारण देशको उत्तराधिकारी हुने व्यवस्था फालेर गणतन्त्र ल्याएको केहीलाई सही नसक्नु भएको छ’, उनले भने, ‘अहिले पनि केही मान्छे यो मान्छे गोठालो हो, खाली खुट्टा हिँड्नुपर्ने मान्छे हो, यहाँ प्रधानमन्त्रीको कुर्सीमा बस्ने मान्छे नै होइन भनेर उफ्रिरहेका छन्।’ उनले जनताको छोरो प्रधानमन्त्री बन्दा केहीलाई पिर परेको पनि दोहोर्याए।
‘जनताको छोरो प्रधानमन्त्री बन्दा केहीलाई पिर परेको छ। तर हामी शासक होइनौं, म पनि शासक हुन जन्मिएको मान्छे होइन, जनताको सेवाका लागि जन्मिएको हुँ। मैले कहिले पनि शासकको परिकल्पना गरिँन। जेलमा बस्दा पनि देशको सेवाका लागि लाग्ने प्रण गरेको मान्छे हुँ।’ उनले देशको सेवाकै लागि आफू यहाँसम्म आएको पनि सुनाए।
‘देशको सेवक नै ठानेको छु मैले। थुप्रै बुद्धिजीवी भन्नेहरुले भन्छन्, टेलिभिजन कार्यक्रमहरुमा चप्पल लगाएर हिँडिरहेको थियो। आज जुत्ता लगाएर हिँड्छ। त्यो काठमाडौंमा साइकलमा हिँड्थ्यो। त्यो हेर्दा हेर्दै माननीय सांसद मन्त्री भयो, प्रधानमन्त्री भयो यो सुहाउने कुरा हो?’, उनले भने, ‘एउटा गाउँको भैँसी गोठालो, गाई गोठालो प्रधानमन्त्री भएकोमा सहनसक्नु भएको छ।’
उनले आफूले स्कुलमा पढ्दा खोलामा पडिँदै जाने गरेको बताए। ‘स्कुल जाँदा पौडिएर जानुपर्थ्यो। हामीले धेरै दु:ख गरेर पढ्यौँ’, उनले भने, ‘सामन्ती मानसिकताका मानिसलाई यो कुरा पच्न गाह्रो हुन्छ। कतिपयले मैले बोलेको त बुझ्दैनन् मदन भण्डारीले बोलेको के बुझ्छन्? उखान र विम्ब के हो भन्ने पनि बुझ्दैनन्, उपमा, दृष्टान्त केहो? त्यो पनि थाहा छैन।’