प्रधानमन्त्रीले भने: राष्ट्रपति हिँड्ने गाडी बाटोमा स्टार्ट बन्द भयो भने के गर्ने ?
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको खुलेर बचाउ गरेका छन् । उनले मदन भण्डारी साइकल चड्ने गरेको कुरा सुनाउँदै भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताएका समेत छन्।
राष्ट्रपतिलाई महँगा गाडी खरिदमा हुने गरेको विरोधतर्फ लक्षित गर्दै मदन भण्डारीको जन्मजयन्तीमा आइतबार बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई साइकल चलाउन नआउने बताएका हुन् ।
‘मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो। उहाँकी धर्मपत्नी अहिले गाडीमा हिँड्नुहुन्छ भन्दै आलोचना हुने गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारीको धर्मपत्नीले साइकल चलाउनै जान्नुहुन्न।’
प्रधानमन्त्री ओलीले राष्ट्रपति हिँड्ने गाडी जाँदाजाँदै बाटोमा स्टार्ट बन्द हुने खालको हुन नहुने पनि बताए।
‘१६ करोडको होइन, राष्ट्रपति हिँड्ने गाडी बाटोमा जाँदाजाँदै स्टार्ट बन्द हुने गाडी हुनुपर्ने?,’ प्रधानमन्त्री ओलीको प्रश्न छ, ‘राष्ट्रपति १६ करोडको गाडीमा हिँड्ने गरेको सुनिन्छ तर १६ करोडको गाडी नेपालमा आउँछ कि आउँदैन भनेर वास्तविकता जान्न कसैले खोज्दैन।’
राष्ट्रपति महँगा गाडीमा हिँडेको आलोचना गर्नेहरू आफू भने अपारदर्शी आम्दानी भए पनि राम्रै गाडीमा हिँड्ने गरेको प्रधानमन्त्रीले बताए।
प्रधानमन्त्रीले स्वीडेनका राजा साइकलमा हिँड्ने प्रसंग पनि सुनाएका थिए।
‘स्वीडेनका राजा साइकलमा हिँड्नछन् बडो चर्चा हुन्छ। त्यो कुरा होइन, नजिकैको रेलवे स्टेशनमा उनी साइकल लिएर जान्छन्। त्यो शोखको कुरा हो। सधैँ उनलाई गाडी नभएको त होइन। स्कर्टिङ पनि हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।