ओलीले हेपेको भन्दै ‘एक्सन’मा जाने स्थायी कमिटिको संकेत
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र यतिबेला खतराको संकेत देखिएको छ । शक्ति संघर्षको विवाद यतिसम्म चुलिएको छ कि नेतृत्व तहका नेताहरू एकले अर्कोलाई पटक्कै नटेर्ने अवस्थामा पुगेका छन् । शीर्ष नेताहरु आ–आफ्नो रणनीति बनाउन लागि परेका छन् ।
पार्टी एकीकरण भएको दुई बर्ष वितिसक्दा समेत तीन गुटमा विभाजित नेकपाभित्र अझै पनि शक्ति संघर्ष चलिरहेको छ । तीन–तीन महिनामा बस्नु पर्ने स्थायी समिति बैठक छ महिनापछि सुरु भएको छ । पटक–पटक सार्दै आएको स्थायी कमिटि बैठक बल्लबल्ल बस्न सफल भएको छ । त्यसका लागि स्थायी समितिका सदस्यहरुले कहिले लिखित रुपमा नै बैठक माग गर्नुपर्यो त कहिले ताकेता गर्नुपर्यो ।
जसरी पनि बैठक तार्ने रणनीतिमा रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थेग्न नसकेपछि बैठक त बस्यो तर, बैठकको अवस्था देख्दा इतिहासमै उदेकलाग्दो छ। बैठक बोलाए पनि बैठकमा भने लगातार दुई दिन नै ओली अनुपस्थित भएपछि नेताहरूले आफूहरू हेपिएको निष्कर्षमा पुगेका छन् ।
पार्टीभित्र नेताहरुको आलोचना सुन्न नचाहेको कारण स्वास्थ्यको कारण देखाउदै सकेसम्म ओली बैठकमा नबस्ने गरेको यो पहिलो घटना भने होइन । प्रधानमन्त्री निवास वालुवाटारभित्र नै स्थायी समिति बैठक बालाएर पनि ओली सहभागी नहुनुलाई नेताहरुले प्रधानमन्त्री ओलीले पार्टीलाई नटेरेको अर्थको रुपमा लिएका छन् ।
अब के हुन्छ ?
अहिलेको नेकपाको विवाद भनेको मुलत प्रधानमन्त्री ओलीको कार्यशैली, सरकार संचालनमा देखिएको ओलीको एकलौटी पेलान, पार्टी संचालनमा आफ्ना ओलीले बाहेक सबै गुटलाई बाइकट गर्ने परम्परा नै मुख्य हो ।
पार्टी एकताका बेला गरेका सहमतिबाट पछी हटेर प्रचण्ड लचिलो बन्दापनि निरन्तर हेपिनुपरेको अवस्थामा प्रचण्डलाई थप तनाव छ । बेलाबेला ओलीले आफूलाई टेर्दै नटेरेको, आफ्ना कुरा नसुनेको गुनासो गर्ने गरेका प्रचण्ड अहिले भने यसको छिनिफानो गर्ने लाइनमा छन् ।
तर, जारी स्थायी कमिटि बैठकमा चर्को आलोचना खेप्न नसकेर बैठक नै छाडेर निस्किने, बैठकमा उपस्थित नहुने र कुरा नै नसुन्ने परिपाटी बढेपछि स्थायी कमिटिका अन्य सदस्यहरूले प्रधानमन्त्री ओलीले आफूहरूलाई निकै हेपेको र नटेरेको निष्कर्षमा पुगेका छन् । निरन्तर जवाफदेहिता बाट पन्छिने गरेका ओली यतिबेला निकै चेपुवामा परेका छन् । यसरी नै बैठक छल्दै हिड्नेहो भने भोलीको विकराल परिणाम के आउने हो भन्ने अनुमान गर्न स्वयं ओलीलाई पनि गाह्रो छ ।