नेपालमा सुरू भयो खतरनाक ‘सलह’ किराको बितण्डा
काठमाडौं । नेपालमा शनिबार बिहान भारतबाट सलह किरा नेपाल प्रवेश गरेको पुष्टि भएको छ । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्ला बारा, पर्सा र सर्लाही लगायत तराईका धेरै जिल्लामा सहलको बथान देखिएको कृषि मन्त्रालयले जनाएको छ ।
शनिबार दिउसोसम्म तराइका धेरै जिल्लाहरूमा सलहका ठुला ठुला बथान नै देखिसकेको छ ।अहिले नेपाल प्रवेश गरेका सलह किरा लाखौंको संख्यामा भएको अनुमान गरिएको छ । तर, ति सलह कुन प्रकृतिका हुन् अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपाल छिरेका सलह किरा रुख तथा जमिनमा बसेको जानकारीमा आएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । ति किराहरुले जहाँ बस्यो त्यहि खाने गर्छन् ।
सहल किरा देखिएका जिल्लाका किसानसहित अरु किसानलाई पनि सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।
कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले सलह नेपाल प्रवेश गरेको तर प्रजातिको बारेमा यकिन गर्न बाँकी रहेको बताए ।
उनका अनुसार सामान्य फट्याङ्ग्रा किराले ठूलो क्षति नगर्ने तर लस्कट प्रजातिको फट्याङ्ग्रा भए बाली तथा बोटबिरुवामा ठूलो नोक्सानी गर्ने बताए ।
बाराका कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले पनि सलह किरा नेपालमा भित्रिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । नेपालका कृषि वैज्ञानिकहरुका अनुसार दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह किरा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो ।