३४ वर्ष अगाडिको भ्रष्टाचारमा फसे नवाज शरिफ
काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ ।
पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीले जनाएका छन् ।
उनीसँगै अरू ३ जनलाई पनि ३४ वर्ष अगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्बन्धी काम कानुनविपरीत गरेको भन्दै दोषी दाबी गरेर मुद्दा दायर गरिएको हो ।
स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहेका ७० वर्षीय शरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भएका शरिफलाई यसअघि भ्रष्टाचारसम्बन्धी अन्य मुद्दा पनि लगाइएको छ ।
अहिलेको मुद्दामा उनीसँगै दोषी दाबी गरिएकामा जङ्ग/जेओ मिडिया ग्रुपका सञ्चालक मिर शकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्व निर्देशक हुमायुन फइज रासुल र पूर्व भूमि निर्देशक मिअन बसिर रहेका छन् ।
सन् १९८६ मा शरिफ पञ्जाबको मुख्यमन्त्री भएका थियो । मुख्यमन्त्री रहेको समय उनले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाएको दावी गरिएको छ ।
सो कार्य गर्दा शरिफ र २ जना सरकारी उच्च अधिकारीले कानुनको उलङ्घन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ । अन्य मुद्दासमेतमा आरोप लागेर दण्ड सजाय भोगेका शरिफले उपचारका लागि अदालतले अनुमति दिएपछि गत नोभेम्बरमा लण्डन गएका हुन् ।
उनी उपचारका लागि ४ हप्ताका लागि मात्रै अनुमति पाए पनि अहिलेसम्म बसिरहेका छन् । शरिफकी श्रीमतीको पनि २ वर्षअघि उपचारकै क्रममा लण्डनमा निधन भएको थियो ।