नेपाल छिर्‍यो विश्वकै खतरनाक कीरा ‘सलह’को बथान, आकस्मिक बैठक बस्दै - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

नेपाल छिर्‍यो विश्वकै खतरनाक कीरा ‘सलह’को बथान, आकस्मिक बैठक बस्दै



काठमाडौं- कृषी मन्त्रालयको विज्ञ टोलीले यो वर्ष नेपाल नछिर्ने दाबी गरेको सलह किरा नेपाल छिरेको छ । भारत हुँदै सलहको एउटा बथान नेपाल छिरेको बताइएको छ।

बारा जिल्लामा सलहको सानो झुण्ड देखिएको बताइएको छ । भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो। सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज शनिबार आकस्मिक रुपमा बैठक बोलाएको छ।

एक अधिकारीले सर्लाही र बारामा केही दिनदेखि सलहको बथान देखिएको बताएका छन् । तर, यो कति ठूलो समूहमा आएको हो भन्ने पूर्ण जानकारी आइसकेको छैन।

बाराको निजगढ र सर्लाहीको नवलपुर आसपास क्षेत्रमा सलहको बथान देखिएको जानकारी आएको जनाइएको छ ।

पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति पुर्याएको छ।

सलह भारतको उत्तर प्रदेशमा आइपुगेपछि नै नेपालको कृषि मन्त्रालयले क्षति न्युनिकरण गर्न समिति गठन गरेको थियो।

सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउँछ। नेपालमा यसले पुर्याउन सक्ने क्षतिबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ।

हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने कृषि वैज्ञानिकहरू बताउँछन्।

के हो सलह ?

विश्वकै एक खतरनाक आप्रवासी कीरा हो सलह। यो सामान्य फट्याड़ग्राभन्दा ठूलो हुन्छ र यसको पछाडिको खुट्टा फट्याड़ग्रा भन्दा लामो हुन्छ। जसकारण सलहमा उफ्रिने क्षमता धेरै हुन्छ।

यिनीहरु झुण्डमा आक्रमण गर्छन्। अरु कीराहरु कुनै निश्चित समूहको बालीमात्रै खाने गर्छन् तर सलहले बालीसहित बोटविरुवा पनि खान्छ।

सलहको एक झुण्ड करिब १ वर्गकिलोमिटर बराबरको हुने बताइन्छ। यसमा लाखौको संख्यामा सलह हुन्छन्। यो झुण्डले प्रत्येक दिन १० माइलको यात्रा तय गर्न सक्छ।

२०१९ को सुरुवातताका केन्या तथा अन्य अफ्रिकी मुलुकमा देखा परेको सलह जुनसम्म पाकिस्तानको पूर्वी भागमा देखा पर्न थालेको थियो भने २०२० जनवरी २९ मा राष्ट्रिय आपतकाल नैघोषणा गरिएको थियो।

सलह अहिले भारतका ५ प्रदेशहरु राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात तथा उत्तर प्रदेशमा पनि देखा परिसकेको छ।