लद्दाखको विषयमा प्रधानमन्त्री मोदी र राजदूतको दाबी फरक
काठमाडौं- चीनका लागि भारतीय राजदूतले सीमा विवादलाई लिएर चीनले आफ्नो जिम्मेवारी बुझ्नु पर्ने र सैनिकको उपस्थिति एलएसीको आफ्नो भाग तर्फ मात्रै गर्नु पर्ने बताएका छन् ।
समाचार संस्था पिटिआईका अनुसार चीनका लागि भारतीय राजदूत विक्रम मिस्रीले तनाव कम गर्न तथा डिसइन्जेग गर्नका लागि चीनले आफ्नो जिम्मेवारी बुझेर वास्तविक नियन्त्रण रेखा (एलएसी) को आफ्नो तर्फ फिर्ता आउने अपेक्षा रहेको बताएका हुन् ।
पिटिआईका अनुसार राजदूत मिस्रीले भनेका छन्, ‘भारतले जहिले पनि एलएसीको आफ्नो तर्फ रहेर काम गरेको छ । चिनियाँ सैनिकले जुन कदम उठायो त्यसले दुई देशबिचको सम्बन्धमा विश्वासको कमी उत्पन्न भएको छ ।’
उनले भनेका छन्, ‘दुई देशबिचको सम्बन्धलाई गम्भीर रुपमा लिएर कुन मार्गमा अघि बढ्ने भन्ने कुरा पूर्ण रुपमा चीनको जिम्मेवारीको विषय हो ।’
एलएसी पार गरेर भारत तर्फ आउने र निर्माण कार्य गर्न चीनले बन्द गर्नु पर्ने राजदूतले बताएका छन् । एलएसीमा तनाव कम गर्ने एक मात्र विकल्प भनेको चीनले नयाँ निर्माण कार्य रोक्नु नै रहेको उनको भनाई छ ।
सीमा विवादलाई लिएर जनु १५ राति पूर्वी लद्दाखको एलएसी क्षेत्रमा भारत र चीनका सैनिकबिच भिडन्त भएको थियो । त्यसमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको निधन भएको थियो । त्यसपछि तनाव कम गर्नका लागि सैन्य तथा कूटनीतिक तहमा वार्ता भइरहेका छन् ।
तर सीमा विवादलाई लिएर जुन १९ मा भएको सर्वदलीय बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ सैनिक भारतको भूमिमा प्रवेश नगरेको र कुनै पनि चेकपोस्ट कब्जा पनि नगरेको बताएका थिए ।
तर भारतीय राजदूतको भनाई भने त्यस विपरित आएको छ । यस्तै स्याटेलाइट तस्बिरहरुमा पनि भारतीय भूमिमा चिनियाँ सैनिकले निर्माण कार्य गरेको देखिएको दाबीसहितका खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।
प्रधानमन्त्रीको भनाईलाई लिएर विपक्षी कांग्रेसले लगातार प्रश्न गरिरहेको छ।