स्थायी कमिटी बैठकमा किन गएनन् प्रधानमन्त्री ?
काठमाडौँ- बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । शुक्रबार बिहान ११.२० देखि सुरु भएको दोस्रो दिनको बैठकमा अध्यक्ष ओली उपस्थित भएका छैनन् ।
पूर्वतयारी भएको बैठकमै नआएपछि प्रधानमन्त्री ओलीको आलोचना सुरू भएको छ । बैठकको पहिलो दिन ब्यापक आलोचित बनेका प्रधानमन्त्री नेताहरूको प्लान बुझेरै अनुपस्थित भएको एक नेताले बताए ।
पुष्पकमल दाहालले बैठकको अध्यक्षता गरेर संचालन भएको छ । बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले आ-आफ्ना धारणा राखेका थिए ।
दोस्रो दिनको बैठकमा ओली अनुपस्थित भए पनि सचिवालयका नेताहरु र स्थायी कमिटीका अन्य नेताहरुले आफ्ना धारणा राख्नेक्रम चलिरहेको छ ।
बैठकमा अहिलेसम्म प्रदीप ज्ञवाली, लिलामणि पोखरेल, मात्रिका यादव, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृत बोहरा, पम्फा भुसालसहितका नेताले आफ्ना धारणा राखेका छन् ।
बैठकमा परराष्ट्रमन्त्री समेत रहेको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा विवाद र समाधानका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराएका छन् ।
बैठकमा प्रधानमन्त्री ओली नआएपछि सदस्यहरुले प्रश्न उठाएका थिए । त्यसपछि महासचिव विष्णु पौडेलले बैठक सुरु गर्दै गर्नु भन्ने सन्देश प्रधानमन्त्रीबाट आएको त्यहाँ सुनाएको ती नेताले बताए ।
प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले भने सरकारका अन्य काममा व्यस्त भएका कारण प्रधानमन्त्री बैठकमा उपस्थित हुन नसकेको बताए ।
विभिन्न बैठक छल्दै आएका प्रधानमन्त्री ओली स्थायी कमिटि बैठकमै अनुपस्थित भएपछि नेताहरूले भने विभिन्न शंका गरेका छन् । पहिले नै तय भएको बैठकमै अनुपस्थित भएपछि प्रधानमन्त्रीको थप आलोचना हुने निश्चित छ