भारत लिपुलेकको बिषयमा नबोल्ने, वार्ता पनि नगर्ने - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

भारत लिपुलेकको बिषयमा नबोल्ने, वार्ता पनि नगर्ने



काठमाडौं- भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीका सम्बन्धमा थप प्रतिक्रिया नदिने बताएको छ । उसले नेपालमा चीनको प्रभाव, नयाँ नक्सा, विदेश सचिवस्तरीय बैठकलगायतका विषयमा टिप्पणी नगर्ने पनि स्पष्ट गरेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नयाँ नक्साबारे कुनै जानकारी नदिने बताउँदै नेपाल र भारतबीच आपूर्ति व्यवस्था निरन्तर रहेको उल्लेख गरेका छन् । बिहीबार पत्रकारहरूले नेपालद्वारा जारी नयाँ नक्सा, विदेश सचिवस्तरीय बैठकको सम्भावना, नेपाली भूभाग चीनले अतिक्रमण गरेको चर्चाबारे प्रश्न गरेका थिए ।

‘भारतले आफ्नो धारणा १३ जुनमा सार्वजनिक गरिसकेको छ । यस सम्बन्धमा थप प्रतिक्रिया छैन,’ आधा दर्जन पत्रकारहरूको जवाफमा श्रीवास्तवले भने । भारतले नेपालद्वारा जारी नक्सा मान्य नहुने तथा नेपालले वार्ताका लागि सकारात्मक वातावरण बनाउनुपर्ने जिकिर गरेको थियो । पत्रकारहरूले नेपालमा भारतबाट विवाह गरेर जाने चेलीहरूलाई नागरिकता लिन सात वर्ष लाग्ने नेपाली कानुनी प्रावधानबारे उनीसँग प्रतिक्रिया मागेका थिए ।

श्रीवास्तवले यसबारे सीधा प्रतिक्रिया दिएनन् । ‘यस सम्बन्धमा हामीले रिपोर्ट हेरेका छौँ । हाम्रा जनताबीच गहिरो सम्बन्ध छ । नेपाल र भारतका जनताबीच पारिवारिक सम्बन्ध छ । यसले दुई देशको सभ्यता र संस्कृतिमा आधारित सम्बन्धलाई प्रतिबिम्वित गर्दछ,’ उनले भने ।

नेपाल र भारतबीच अत्यावश्यक सामग्री तथा व्यापारका लागि आपूर्ति व्यवस्थामा अवरोध नआएको उनको भनाइ थियो । लकडाउनको चुनौतीमाझ पछिल्लो महिनामा मात्रै नेपाल र भारतबीच ३० करोड अमेरिकी डलरबराबरको व्यापार भएको श्रीवास्तवले जानकारी दिए ।