नेपालमा कोरोना संक्रमितलाई नयाँ-नयाँ लक्षण देखिएपछि चिकित्सक नै तनावमा
काठमाडौं- नेपालका कोरोना संक्रमितमा नयाँ लक्षण देखिएकाले उपचारमा चुनौती भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार भण्डारीले अस्पतालमा भर्ना हुनेमध्ये ३३ प्रतिशत संक्रमितलाई नयाँ किसिमका लक्षणहरु देखिएको बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमित बिरामीहरुमा खोकी लाग्ने, निमोनिया हुने, ज्वरो आउने मुख्य लक्षणहरु हुन् । तर, नेपालका संक्रमितमा भने पेट दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, सुँघ्ने शक्तिमा ह्रास हुने, थकान हुनेजस्ता लक्षणहरु देखिएको उनले जानकारी दिए ।
संक्रमितहरुमा नयाँ लक्षणका साथै अन्य रोगहरु पनि भएको हुनाले उनीहरुलाई उपचार गर्दा चुनौती रहेको डा. राजभण्डारीले जानकारी दिए ।
बिरामीहरुलाई उनीहरुको लक्षणका आधारमा वर्गीकरण गरेर उपचार गरिएको उनले बताए। वर्गीकरण गर्दा सामान्य लक्षण भएका, मध्यम लक्षण भएका र गम्भीर बिरामीलाई छुट्याएर उपचार गरिएको राजभण्डारीले जानकारी दिए।
चार महिनायता कोरोनामा केन्द्रित टेकु अस्पतालले अस्पतालमा आउने कोरोना संक्रमित बाहेकका बिरामीलाई अन्य अस्पतालमा रेफर गर्ने गरेको छ।
अस्पतालमा अहिलेसम्म कोरोना संक्रमित तथा शंकास्पद ६०० बिरामीलाई भर्ना गरेर उपचार गरिएको राजभण्डारीले जानकारी दिए। हाल अस्पतालमा १३ जना कोरोना संक्रमित उपचाररत छन् ।