सोती घटना: २३ अभियुक्त थुनामा, तीनजना साधारण तारेख र एक जनालाई धरौटी - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सोती घटना: २३ अभियुक्त थुनामा, तीनजना साधारण तारेख र एक जनालाई धरौटी



रुकुम पश्चिम संवाददाता/हिमालपोस्ट

देशभर चासो र बहसको बिषय बनिरहेको रुकुम पश्चिमस्थित सोती घटनामा जिल्ला अदालत रुकुमले २३ जना अभियुक्तहरुलाइ थुनामा राख्न आदेश दिएको छ भने ३ साधारण तारिखमा छाडेको छ । एक जनालाई भने १ लाख धरौटीमा छाडेको छ ।

साधारण तारेखमा छुट्नेहरू तुलबहादुर मल्ल, दिपेन्द्र चन्द र इन्द्रबहादुर मल्ल हुन् । १ लाख धरौटीमा छुट्ने प्रेमिकाकी आमा हुन् ।

सोती घटनाका २३ जना अभियुक्तहरुलाइ रुकुम अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ६७ बमोजिम तत्काल प्राप्त प्रमाणका आधारमा सबै २३ जना प्रतिवादीलाइ थुनामा राख्न आदेश गरेको हो ।

सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्धामा अभियोग पत्र दर्ता गरेको थियो । प्रतिवादीमध्ये २७ जना पक्राउ परेका थिए भने पाँच जना फरार छन्।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा उपल्लो जातकी प्रेमिका लिन जेठ १० गते गाउँका १९ युवा लिएर पुगेका नवराज विकलाई गाँउलेले लखेटेका थिए।

नवराजसहित ६ जनाको शव भेरी नदिमा भेटिएको थियो। सोतीका गाउँलेले कुटेर भेरी नदीमा फ्याँकेको प्रहरी अनुसन्धान प्रतिबेदनमा उल्लेख गरेको छ ।

प्रहरीले नवराजकी प्रेमिका भनिएकी युवती, उसका बाआमा र दाई, वडाध्यक्षसहितलाई पक्राउ गरेको थियो। उनिहरु सबैलाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता भएको थियो ।

यी हुन् २७ अभियुक्तहरू:

अदालतले थुनामा राख्न आदेश दिएका अभियुक्तहरू रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ८ का क्रमश : वर्ष ४२ का डम्बरबहादुर मल्ल, वर्ष ४२ का डिल्ली बहादुर मल्ल, वर्ष ५४ का तुलबहादुर मल्ल, वर्ष ३९ का प्रेमबहादुर ठकुरी, वर्ष २६ का सन्तोस मल्ल, वर्ष २८ का मोहन पुनमगर, वर्ष ४० का मानबहादुर मल्ल, वर्ष ३७ का टोपबहादुर मल्ल, वर्ष २४ का सर्वजित भन्ने सविन पुन, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)१, (३६)२, (३६)३, वर्ष ३६ का तिलक चन्द, वर्ष ४२ का इन्द्रबहादुर ठकुरी, वर्ष ४९ का लिपेन्द्र कुमार मल्ल, वर्ष ४६ का हर्कबहादुर मल्ल, वर्ष २० का विनोद मल्ल, वर्ष १९ का दिपेन्द्र चन्द, वर्ष ४१ का नेत्रबहादुर मल्ल, वर्ष ४१ का रेसमबहादुर मल्ल, वर्ष २१ का धनाराज राना, वर्ष २१ का नबिनकुमार घर्ती मगर, वर्ष २४ का बिराज पुन मगर, वर्ष २३ का भिमबहादुर पुन, वर्ष २४ का रमित पुन मगर, वर्ष १९ का विष्णु मल्ल, वर्ष ३२ का तुलाराम घर्ती, वर्ष ३८ का डिल्ली घर्ती, वर्ष २७ का लोकेन्द्र घर्ती र वर्ष २२ का सौरभ पुन छन् ।

यस्तै सोही जिल्ला सानोभेरी गाउपालिका वडा नं १ का वर्ष ३८ का भिमबहादुर बुढा त्यसैगरी जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का वर्ष ५३ का इन्द्रबहादुर मल्ल रहेका छन् ।